काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको हो । दासले सार्वजनिक सेवामा रहँदा १५ करोड ३२ लाख ३ हजार ३३० रुपैयाँ आर्जन गरेको अनुसन्धानबाट देखिएको छ ।
‘पद अनुसार अमिल्दो र अस्वाभाविक देखिएर उच्च जीवनयापनसमेत गरेको देखिएकोले आरोपी दासको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखियो,’ अख्तियारले अभियोग पत्रमा लेखेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी दासले श्रीमती पुनमको नाममा राखेको देखिएकाले उनलाई पनि प्रतिवादी कायम गरिएको छ । पुनमलाई गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
२०५० साल असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दास २०६८ पुस १७ गते उपकुलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक भएर काम गरेका थिए ।




प्रतिक्रिया