काठमाण्डु – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढिरहेका बेला प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले मंगलबार मतदाता भेटघाट कार्यक्रम तय गरेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा उनले आफ्नो क्षेत्रका प्रमुख २ स्थानीय तह गौरीगञ्ज र गौरादहमा प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई तीव्रता दिन लागेका हुन् ।
मंगलबार बिहान १० बजेदेखि गौरीगञ्ज गाउँपालिकाबाट उनको चुनावी अभियान सुरु हुनेछ । गौरीगञ्ज चोकमा जम्मा भएर सुरु हुने भेटघाट कार्यक्रम खजुरगाछीस्थित वडा नम्बर ६ को कार्यालय, दक्षिण डौवावारी हुँदै देवीगञ्ज दुर्गा मन्दिरसम्म पुग्ने कार्यतालिका छ । बिहानको सत्रमा उनले स्थानीय वासिन्दासँग प्रत्यक्ष साक्षात्कार गर्दै उनीहरूका समस्या र अपेक्षा सुन्ने कार्यक्रम छ ।
गौरीगञ्जको कार्यक्रम सम्पन्न गरेपश्चात बालेन दिउँसो गौरादह नगरपालिकातर्फ जानेछन् । गौरादहमा दिउँसो ३ बजे क्याम्पसमोडस्थित नगर पार्टी कार्यालयमा भेला भएर सुरु हुने दोस्रो सत्रको कार्यक्रम कृषि कलेज, सब्जी मण्डी र मुख्य बजार क्षेत्रमा केन्द्रित हुनेछ । बजार क्षेत्र र स्थानीय मन्दिरको परिक्रमा गरी डिपु चोक पुग्ने अभियान बस स्टेण्ड हुँदै पुन: परिक्रमा गरेर समापन गरिने सचिवालयले जनाएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको कडा प्रतिस्पर्धाका बिच बालेन शाहले मतदाताको घरदैलोमै पुग्ने रणनीति बनाएका छन् ।




प्रतिक्रिया