काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा झापाको ५ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार बालेन्द्र शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ‘हत्यारा’को संज्ञा दिएपछि पहिलोपटक उनलाई स्पष्टीकरण सोधिएकोमा दोस्रोपटक सादा पोशाकका प्रहरीलाई चुनाव प्रचारमा खटाएको आरोपमा स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने थप ९ जनालाई स्पष्टीकरण सोधिएको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण सोधेको थियो । आईतबार र सोमबार बालेन्द्रसहित थप ९ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले झापा–५ मा चुनाव प्रचारका क्रममा बालेन्द्र पत्नी सविना काफ्लेले सादा पोशाकका प्रहरी प्रयोग गरेको जानकारी आएपछि स्पष्टीकरण सोधिएको जानकारी दिए ।
निर्वाचन आचारसंहिता २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम उम्मेदवार शाहलाई ३ दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए ।
शाहको निर्वाचन प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोशाकका प्रहरी खटिएका थिए । उनीहरू सविनासँगै रास्वपालाई भोट दिन भन्दै हिँडेको भिडियोमा देख्न सकिन्छ । आयोगले सोधेको छ, ‘त्यस सम्बन्धमा के कसो भएको हो ?’




प्रतिक्रिया