बालेन कहिले बन्छन् प्रधानमन्त्री ?

बालेन कहिले बन्छन् प्रधानमन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीको रूपमा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई प्रस्ताव गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचनबाट मतदाताले त्यसलाई अनुमोदन गरिसकेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनबाट रास्वपाले झण्डै दुईतिहाइ बहुमत प्राप्त गर्दैछ ।

प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये १६४ क्षेत्रको मात्रै नतिजा बाहिर आएको छ । धनुषा–१ का रास्वपा उम्मेदवारले सर्वाेच्च अदालतमा रिट दायर गरेकाले सो क्षेत्रको मतपरिणाम सार्वजनिक गरिएको छैन । निर्वाचन आयोगले रास्वपा उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो । कूल १६५ मध्ये रास्वपाले १२४ सिट जितिसकेको छ भने १ क्षेत्रमा अग्रता लिएको छ ।

समानुपातिकतर्फ पनि रास्वपाले कम्तीमा पनि ५०% मत प्राप्त गरेको छ, अर्थात् ११० सिटमध्ये कम्तीमा पनि ५५ सिट रास्वपाको पक्षमा पर्ने नै छ । जसअनुसार रास्वपाले सरकार बनाउन बहुमतको समस्या पर्दैन ।

२०८२ पुस १३ गते भएको रवि लामिछाने र बालेन्द्र शाहबिचको सहमतिको ४ नम्बर बुँदामा प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख छ । सोही सहमतिअनुसार बालेन्द्र शाह प्रधानमन्त्री बन्ने निश्चित छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा लेखिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।’ झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका बालेनले प्रधानमन्त्री बन्नुअघि प्रतिनिधि सभामा बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बन्नुपर्नेछ ।

दल नेताको निर्वाचन कहिले ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ५८ अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन परिणामको प्रकाशन निर्वाचन अधिकृतले गर्ने व्यवस्था गरेको छ । जसअनुसार मतगणना सकिएका क्षेत्रमा मतपरिणाम सार्वजनिक भइसकेको छ ।

समानुपातिक तर्फको निर्वाचन परिणामको घोषणा निर्वाचन आयोगले नै गर्नेछ । ऐनको दफा ६० बमोजिम दलले प्राप्त गरेको कूल सदर मत संख्याको विवरणअनुसार आयोगले आवश्यक सबै प्रक्रिया पूरा गरेर बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरू निर्वाचित भएको घोषणा गर्नेछ । निर्वाचन आयोग फागुन २७ गतेसम्म समानुपातिक तर्फको मतगणना सम्पन्न हुने जनाएको छ ।

ऐनको दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको घोषणा सम्बन्धी स्पष्ट व्यवस्था छ । जसअनुसार समानुपातिकको मतगणना सकिएपछि पनि आयोगले केही कार्य गर्नुपर्छ । मतगणना सकिएपछि आयोगले दलले प्राप्त गरेको कूल सदर मत संख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रको आधारमा निर्वाचित हुने संख्या निर्धारण गर्नुपर्छ । समानुपातिकमा दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलको तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने कूल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित गर्नुपर्ने महिलाको संख्या समेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउनुपर्छ । आयोगबाट जानकारी प्राप्त भएपछि सो दलको केन्द्रीय कार्यसमितिले निर्वाचित हुने उम्मेदवारको छनोट गरी त्यसरी छनोट भएका उम्मेदवारको सूची आयोगले तोकेको समयभित्र आयोगसमक्ष पेश गर्नुपर्नेछ । दलले दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी यथासम्भव बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार सूची पेश गर्नुपर्छ । दलले पेश गरेको उम्मेदवारको नामावलीको सूची प्राप्त भएपछि आयोगले सो सूचीमा नाम समावेश भएका उम्मेदवारहरू निर्वाचित भएको घोषणा गर्नुपर्छ । यसरी निर्वाचित भएको उम्मेदवारको नाम आयोगले राष्ट्रपतिसमक्ष पठाई सो नामावली नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्नेछ । ऐनको दफा ६२ मा प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यी सबै प्रक्रिया पूरा भएपछि २७५ सदस्यीय प्रतिनिधि सभामा कुन दलबाट को–को प्रतिनिधिसभा सदस्य निर्वाचित भए भन्ने यकिन हुनेछ ।

दलबाट निर्वाचित सांसदहरूको यकिन भइसकेपछि ती सांसदहरूको बैठक बसेर संसदीय दलको नेता चयन गर्नेछन् । बालेन रास्वपा संसदीय दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालयले प्राप्त गरेमा संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्त गर्न सकिनेछ । यसबिचमा प्रतिनिधि सभाका अध्यक्षबाट सदस्य पदको शपथ लिनुपर्नेछ ।

यी सबै प्रक्रिया पूरा गरेर चैत दोस्रो हप्तासम्म रास्वपा वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने देखिन्छ ।