काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने भएका छन् । सुकुम्वासीहरूले विरोध गरिरहेका बेला मेयर बालेन भने आफ्नो कदमबाट पछि नहट्ने मनशायमा देखिएका हुन् ।
सुकुम्वासीहरूले विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत माग गरेका छन् । सोमबार बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडप भएको थियो । उक्त झडप हुँदा नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते भएका थिए ।
सुकुम्वासीहरुले मेयर बालेनविरुद्ध चर्को नारा लगाउँदै हातमा घरायसी हात हतियार लिएर पर्दशनमा उत्रिएका थिए । सुकुमवासीहरले अटेर गरेपछि अनधिकृत संरचना भत्काउने काम सरकारले गर्नुपर्ने तर नगरेको साथै महानगरले अग्रसरता लिएर काम गर्दा पनि सरकार मौन बसेको भन्दै मेयर बालेन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । भेटका क्रममा प्रधानमन्त्री देउवा बागमती नदी किनारमा रहेको बस्ती हटाउनका लागि सकारात्मक रहेको उनको सचिवालयले जनाएको छ । यसबाट पनि स्पष्ट हुन्छ की बालेन आफ्नो कदमबाट पछि नहट्ने मुडमा छन् ।
बालेनको उक्त कदमप्रति समाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न टिप्पणी भइरहेका छन् । यसैबीच मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि महानगरको सुकुम्वासी बस्तीलाई हटाउने योजना ठिक नभएको टिप्पणी गरे । अध्यक्ष ओलीले मेयर बोलनको चर्को आलोचनासमेत गरेका थिए ।
‘‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन्? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ’, अध्यक्ष ओलीले भनेका थिए ।
त्यसपछि मंगलबार साझँ नै मेयर बालेनले अध्यक्ष ओलीलाई जवाफ फर्काए । बालेनले ओलीलाई यसविषयमा सकेको सहयोग गर्न पनि आग्रह गरे । तर, विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न उनलाई मेयर बालेनले चेतावनीसमेत दिए । ‘तपाईँलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन । अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’, उनले फेसबुकमार्फत भने ।
उनको यस फेसबुक स्टाटसबाट स्पष्ट हुन्छ की मेयर बालेन कुनै पनि हालतमा सुकुम्वासी बस्ती हटाएरै छाड्ने योजनामा छन् ।




प्रतिक्रिया