चितवन– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आवश्यक परे अख्तियार पदाधिकारीलाई ५ घण्टा नभई ५ वर्ष प्रधानमन्त्री कार्यालयमा बोलाएर राख्न सकिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उदघाटन सत्रलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै बालेनले अख्तियार पदाधिकारीलाई बोलाएर सोधपुछ र सल्लाह लिन सकिने बताए ।
अख्तियार पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय बोलाएर राहदानी विभागका महानिर्देशक तीर्थराज भट्टराईलाई पक्रन दबाब दिएको विषयमा विरोध गर्नेहरुलाई बालेनले जवाफ दिएका हुन् ।
‘अख्तियारलाई ५ घण्टा सोधपुछ गर्न पर्छ, सरसल्लाह लिन पर्छ भने ५ घण्टा मात्रै होइन, हामी ५ वर्ष गर्छौं’, शाहले भने, ‘५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्न पर्दैन ।’
शाहले अन्य राजनीतिक दलसँग प्रतिशोध नलिने भन्दै राज्यको सम्पत्ति दोहन भएका घटनामा भने निहुँ खोज्ने चेतावनी दिए । ‘हाम्रो पार्टीले निहुँ खोज्नै परे कस्तो केसमा भने विगतमा फटाइँ भएको छ भने, सरकार सम्पत्तिको दोहन, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौं’, शाहले भने ।
उनले आफूले नियम कानुन नमिची काम गरेको बताए ।
‘नियम कानुनमा बसेरकै काम गर्छौं। नियम भन्दा बाहिर जाँदैनौं । हाउभाउ हेर्दा ,सोसल मिडिया, मिडिया हेर्दा अलिकति अनियन्त्रित देखिएला’, शाहले भने, ‘त्यो देखिएको मात्रै हो । सबै चिज नियन्त्रित नै छ । कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन ।’




प्रतिक्रिया