काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुन:स्थापनाका कामलाई तीव्रता दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबूकमार्फत बाढीबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको र ९३९ जनाको शव फेला परेको जानकारी दिए ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित विभिन्न स्वयंसेवी संस्था परिचालित छन् । प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उपचारलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए ।
सरकारले रसुवा र नुवाकोटका विभिन्न स्थानमा राहत तथा आश्रय व्यवस्थापनलाई समेत तीव्र बनाएको छ । रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याइएको प्रधानमन्त्री शाहले बताए ।
काठमाण्डुलगायत देशका विभिन्न स्थानबाट संकलित राहत सामग्री सुरक्षाकर्मीको सहयोगमा प्रभावित क्षेत्रसम्म पुर्याइएको छ । भारत, चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, स्विट्जरल्यान्ड, अस्ट्रेलिया लगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको जनाइएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग संकलन भइरहेको छ । प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको तथा हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको शाहले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार भइसकेको छ भने ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्रधानमन्त्री शाहले बताए । सम्पर्कविहीनको संख्या खोजी तथा विवरण अद्यावधिकसँगै घटबढ भइरहेको जनाइएको छ ।
विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएका २७९ जना घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धार कार्य पनि जारी छ ।
रसुवागढी जलविद्युत् आयोजनाबाट २ जनाको उद्धार गरिएको छ । आयोजनाको सुरुङमा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले खोजी गरे पनि मानिस फेला नपरेपछि उद्धार टोली फर्किएको जनाइएको छ ।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट ९ जना र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ को सुरुङमा नेपाली सेनासँगै कोरियाली र चिनियाँ टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेका छन् ।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ९० जनाको टोली खोज तथा उद्धारमा खटिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले समेत सहयोग गरिरहेको छ ।
माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट २ जनाको उद्धार गरिएको छ । उक्त क्षेत्रमा नेपाली सेनाका थप ९ जनासहित ३१ जनाको टोली परिचालन गरिएको छ । त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना, सौर्य आयोजनाबाट ४ जना र देवीघाट जलविद्युत् आयोजनाबाट ४ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताए ।
बाढीबाट प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग पुन: सडक सञ्जालमा जोडिएको छ । गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ ।
भोटेकोशीमा पानीको सतह बढ्दा गएको पहिरो तथा कृष्णभीर क्षेत्रमा भएको कटानका कारण केही वैकल्पिक सडकमा समेत असर परेको जनाइएको छ । क्षतिग्रस्त सडक पुन: सञ्चालनका लागि सरकारी संयन्त्र परिचालन गरिएको छ ।
विद्युत् सेवातर्फ रसुवा जिल्लाका कालिकास्थान, नौकुण्डका केही भाग, गोसाइँकुण्ड गाउँपालिकाका केही क्षेत्र र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । बाँकी क्षेत्रमा पोर्टेबल सोलारमार्फत विद्युत् सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुन:स्थापना भइसकेको छ भने बाँकी १५ प्रतिशत क्षेत्रमा ५ दिनभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । धादिङमा भने ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुन:स्थापना भइसकेको र बाँकी क्षेत्रमा २ दिनभित्र सेवा सञ्चालन गर्ने गरी काम भइरहेको प्रधानमन्त्री शाहले बताए ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा बीटीएस टावर सञ्चालनमा आएका छन् ।
बाढीका कारण ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिका शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको छ । हालसम्म ९३९ जनाको शव फेला परेको प्रधानमन्त्री शाहले जानकारी दिए ।
पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ । यस्ता शवको पहिचानमा सहयोग पुग्ने गरी डीएनए लगायत आवश्यक आधार सुरक्षित राखिएको जनाइएको छ ।
प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढीलाई सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँचट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा उल्लेख गरेका छन् । घटनाले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमप्रति थप सचेत हुनुपर्ने अवस्था देखाएको उनको भनाइ छ ।
सरकारले उद्धार तथा राहतसँगै प्रभावित नागरिकको पुन:स्थापनाको तयारीसमेत अघि बढाएको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको प्रधानमन्त्री शाहले बताए ।
उनले घर, परिवार र जायजेथा गुमाएका नागरिकको पीडालाई सम्बोधन गर्दै पुन:स्थापनामार्फत प्रभावितलाई सामान्य जनजीवनमा फर्काउन सरकार प्रतिबद्ध रहेको बताए । त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत अघि बढिरहेको उनले जानकारी दिए ।




प्रतिक्रिया