काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीले देखाएको साहस र योगदानको उच्च प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले आईतबार सामाजिक सञ्जाल फेसबूकमार्फत बाढी प्रभावित क्षेत्रमा ३ वटै सुरक्षा निकायका २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएको जानकारी दिँदै संकटका बेला सुरक्षाकर्मीले गरेको त्याग र साहसप्रति सरकार कृतज्ञ रहेको बताएका हुन् ।
प्रधानमन्त्री बालेनका अनुसार ३ वटै सुरक्षा निकायको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ । स्थलमार्ग र हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै कतिपय अवस्थामा सुरक्षाकर्मीले घाइतेलाई आफ्नै काँधमा बोकेर अस्पताल पुर्याएको उनले उल्लेख गरेका छन् ।
कारागारबाट ९२३ कैदीबन्दीको उद्धार
प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–६ खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढीका बेला सुरक्षाकर्मीले गरेको उद्धारलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । कारागारमा रहेका ९२३ कैदीबन्दीलाई बाढीबाट जोगाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले तत्काल उद्धार गरी उनीहरूलाई माथिल्लो भवनमा सारेका थिए ।
बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खालमा क्षति पुर्याउँदै कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्म लेदो पसेको अवस्थामा समेत सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका थिए ।
बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटर टाढासम्म भागेका ५० जना कैदीबन्दीलाई पुन: नियन्त्रणमा लिइएको प्रधानमन्त्रीले बताए । कैदीबन्दीबाट भएको आक्रमणमा केही सुरक्षाकर्मी घाइते समेत भएको उल्लेख छ ।
३ वटै सुरक्षा निकाय अग्रपंक्तिमा
प्रधानमन्त्रीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खोज तथा उद्धारसँगै शव व्यवस्थापन, प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन आवश्यक काम र होल्डिङ सेन्टरमा रहेका प्रभावितलाई सुरक्षा तथा मनोबल बढाउने कार्यमा निरन्तर खटिएका छन् ।
नेपाली सेनाका ९ हजार २८७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन् । सेनाले नुवाकोटको त्रिशूली बट्टारमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टीम’ र ‘फरवार्ड एयर बेस’ स्थापना गरी उद्धार गरिरहेको प्रधानमन्त्री बालेनले बताए ।
रसुवाको धुन्चेमा समेत ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सक सहितको ‘फरवार्ड मेडिकल टीम’ र अतिरिक्त एयर बेस सञ्चालनमा रहेको छ । सेनाले अन्य सुरक्षा निकायसँगको समन्वयमा कठिन भूगोलमा उद्धार तथा जलविद्युत् आयोजनाका सुरुङमा खोजीको नेतृत्व गरिरहेको छ ।
तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र सडक खोल्ने काम पनि भइरहेको छ । नुवाकोटको देवीघाटमा नेपाली सेनाका इन्जिनीयरले एक्रो ब्रिज जडान गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि व्यापक रूपमा परिचालित
बाढी प्रभावित क्षेत्रमा ७ हजार ९७५ नेपाल प्रहरी परिचालित रहेको प्रधानमन्त्री शाहले बताए । प्रहरीले खोज तथा उद्धार, राहत वितरण, घाइतेलाई अस्पताल पुर्याउने, शव व्यवस्थापन, सूचना प्रवाह तथा शान्ति सुरक्षा कायम गर्ने काम गरिरहेको छ । तालिमप्राप्त कुकुरसमेत खोज तथा उद्धारमा परिचालन गरिएको छ ।
त्यस्तै ४ हजार २०३ सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन् । विशेष तालिमप्राप्त गोताखोर, डोरी टोली, ड्रोन स्क्वाड र केनाइन टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको प्रधानमन्त्री बालेनले बताए । सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा उपचार सेवा दिनुका साथै नेपाल–चीन सीमा क्षेत्रमा नेपाली झण्डा स्थापना गरेको पनि उनले उल्लेख गरेका छन् ।
सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी जारी
प्रधानमन्त्री शाहले बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी गरी ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको बताएका छन् । सहकर्मी सम्पर्कविहीन हुँदाको पीडाबिच पनि सुरक्षाकर्मीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको भन्दै प्रधानमन्त्रीले उनीहरूको उच्च मनोबल र समर्पणको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले संकटको समयमा सुरक्षाकर्मीले पुर्याएको योगदानको सरकारले उच्च कदर गर्ने र उनीहरूको सेवा, सुरक्षा तथा सुविधामा कुनै सम्झौता नगर्ने बताए । कठिन परिस्थितिमा सुरक्षाकर्मीलाई सेवामा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।




प्रतिक्रिया