काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवम् लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग आग्रह गरेका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतलाई भेटेर मेयर साहले विपन्न वर्गलाई कानूनबमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दासमेत उपलब्ध नगराउने ती स्वास्थ्य संस्थालाई सात दिनभित्र कारबाहीको माग गरेका हुन् । यदी मन्त्रीले आफूले राखेको माग सम्बोधन नगरे महानगरपालिका आफैं ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने उनले चेतावनी दिएका छन् ।
‘माननीय मन्त्रीज्युको ध्यानाकर्षण गराउँदै काठमाण्डु महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरणअनुसार नियमन र कारबाही गर्न अनुरोध गरेका छौं । यदि मन्त्रीज्युले ७ दिनभित्र उहाँहरुलाई कानूनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने छौं ।’, मेयर बालेनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् ।
जेठ ६ गते काठमाण्डु महानगरपालिकाभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थासँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण मागिएको थियो ।
तर, ६८ स्वास्थ्य संस्थाले हालसम्म सो विवरण नबुझाएको बताइएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवम् प्रचलित स्वास्थ्यसम्बन्धी कानूनमा विपन्न र लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्नेलगायत स्वास्थ्य सुविधाहरु उल्लेख छन् ।




प्रतिक्रिया