टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा सडक बिस्तारको काम सुरु भएको छ । सहरे विकास अन्तर्गत परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले सडक चौडा गर्ने काम सुरु गरेका हुन् ।
परशुराम नगरपालिकालाई सुन्दर नगर बनाउने उदेश्यले मेयर जोशीले सडक बिस्तारको काम सुरु गरेको जनाइएको छ । सडक चौडा गर्ने काम अन्तर्गत ढल निकासा, नाली निर्माण, सडक नजिक भएका पसलका टहरा भत्काउने, सडकमा बत्ती जडान र सिसीटिभी क्यामेरा जडानको काम भइरहेको छ ।
जसअनुसार शनिवार डोजरसहित मेयर आफै जोगबुढा बजार पुगेर उक्त काममा सक्रिय भएका थिए । सडक बिस्तारको काम जोगबुढादेखि साननीसम्म पुग्ने मेयरका स्वकीय सचिव ललित बिस्टले बताए । उनका अनुसार जोगबुढा बस पार्कलाई पनि व्यवस्थित बनाइनेछ ।
‘ मेयरको अगुवाई र सरोकारवाला निकायहरुको उपस्थितिमा परशुराम नगरपालिका सौन्दर्यकरण तथा व्यवस्थित बनाउने अभियान अन्तर्गत पहिलो चरणमा लालढुङ्गा बजारदेखि सिद्धाथान चोकसम्म सडक पिच, सडक सञ्जालीकरण, फुटपाथ, ढल निकास, सडक बत्ती, सिसीटिभी क्यामेरा जडान लगायतका योजना हरुको संचालनको लागि लालढुङ्गा बजारमा सडक विस्तार तथा निर्माण कार्यको सूरुवात गरिएकाे छ। सडक बिस्तारको काममा मेयर आफै खटिएका छन् । यो काम जोगबुढा बजारदेखि सादनीसम्म पुग्नेछ । साथै जोगबुढा बसपार्कलाई पनि व्यवस्थित बनाइने छ ।’, बिष्टले भने ।
मेयर जोशीले चुनावमा गरेको प्रतिबद्धता अनुसार हाल काम गरिरहेको उनको भनाइ छ । ‘मेयरले चुनावमा गरेको प्रतिबद्धता अनुसार काम गरिरहेका छन् । जसरी काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले काठमाण्डुलाई व्यवस्थित र सुन्दर बनाउन अनधिकृत संरचना हटाउने काम गरे । अहिले मेयर जोशी पनि सुन्दर नगर बनाउने अभियानमा जुटेका छन् । नगरपालिका भित्र पर्ने सडकहरुलाई चौडा बनाउने पहिलो प्राथमिकता छ । त्यस्तै सडकमा बत्ती जडान गर्ने, बसपार्कलाई व्यवस्थित बनाउने काममा उहाँ जुट्नु भएको छ ।’, बिष्टले भने ।




प्रतिक्रिया