भौतिक पूर्वाधारमन्त्री महासेठलाई काठमाण्डुका मेयर शाहबाट एक ट्रक धुलो उपहार !


काठमाण्डु – भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले हरेक दिन एक ट्रक धुलो उपहार पठाउन थालेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड सडक विस्तारमा ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मेयर शाहले मन्त्री महासेठको पायक पर्ने ठाउँमा दैनिक धुलो उपहार पठाउने जनाएका छन् ।

उनले लेखेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहीँ आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाण्डुको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको छ । काठमाण्डुमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ र काठमाण्डु महानगरले अकारणमा गाली खानुपरेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन, जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु । माया सम्झेर स्वीकार्नु होला ।’

कालोपत्रे सडकमा १ टिप्पर धुलो फोहोर फालेको भिडियो पनि मेयर शाहले फेसबूकमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement