काठमाण्डु महानगरमा एक्लिँदै बालेन ! कार्यपालिकाबाट कहिलेसम्म भाग्न सकिएला ?

काठमाण्डु महानगरमा एक्लिँदै बालेन ! कार्यपालिकाबाट कहिलेसम्म भाग्न सकिएला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कार्यपालिका सदस्यहरूसँग समन्वय नहुँदा काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ एक्लिँदै गएका छन् ।

हरेक महिना बस्नुपर्ने कार्यपालिका बैठक लामो समयसम्म नबस्दा महानगरको कार्यपालिका ४१ जना सदस्यले छिटो कार्यपालिका बैठक बोलाउन मेयर शाहसमक्ष माग गरेका छन् ।

काठमाण्डु महानगरको कार्यपालिकामा ४२ सदस्य छन्, जसमध्ये ४१ जनाले कार्यपालिका बैठकको माग गर्दै लिखित निवेदन नै पेश गरेका छन् । यसरी मेयर शाह एक्लिएका हुन् ।

कार्यपालिकामा एक्लो पर्ने भएपछि मेयर शाहले लामो समयदेखि कार्यपालिका बैठक बोलाएका छैनन् । कार्यपालिकामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सदस्य कार्यपालिका बैठक बोलाउनुपर्ने पक्षमा उभिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा (१) मा कार्यपालिकाको बैठक कम्तीमा महिनाको १ पटक बस्ने उल्लेख छ । काठमाण्डु महानगरपालिकाको कार्यपालिका बैठक पुसयता बसेको छैन ।

‘कम्तीमा १ महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करीब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय लगायत पनि अन्योलमा पर्दै आएका छन्,’ प्रवक्ता नविन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ गतेसम्ममा बजेट ल्याउनुपर्ने कानूनी बाध्यता छ । तर लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन । स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ । तर मेयरले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने/नआउनेसमेत अन्योल देखिएपछि हामीले मेयरज्यूलाई घच्घच्याएका हौं ।’

प्रमुख प्रशासकीय अधिकृतसँग विवाद परेपछि मेयर शाहले कार्यपालिका बैठक बोलाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकामा सदस्य सचिव हुने प्रावधान छ । मेयर शाहको इच्छा विपरीत उपमेयरसहित कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएर काम गराइरहेका छन् ।