मेयर बालेन चुनावी तयारीमा सक्रिय, ‘देश विकास पार्टी’ अगाडि बढाउने सम्भावना

मेयर बालेन चुनावी तयारीमा सक्रिय, ‘देश विकास पार्टी’ अगाडि बढाउने सम्भावना


काठमाण्डु – युवामाझ सर्वाधिक रूचाइएका काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ आसन्न चुनावको तयारीमा सक्रिय भएका छन् ।

जेनजी आन्दोलनपछिको उपस्थितिमा भूमिका नखेलेको आरोप लाग्दै आएका मेयर बालेन अब सक्रियतापूर्वक चुनावी तयारीमा लागेका छन् ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि उनले बुधबार चर्चित चिकित्सक डा. भगवान कोइराला, निश्चल बस्नेत, सागर ढकाल, रेशम चौधरी लगायत जेनजी प्रतिनिधिसँग भेटवार्ता गरेका छन् ।

राजनीतिक सक्रियतामा उनका सल्लाहकार कुमार बेनले सघाइरहेका छन् । मेयर बालेनले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

रविसँगको भेटमा स्पष्ट कुरा नआएपछि उनले आफ्नो टीम र आफू सक्रिय हुँदै ‘देश विकास पार्टी’ अगाडि बढाउने मनस्थिति बनाएको उनीनिकट स्रोतले जनाएको छ । देश विकास पार्टीमा विभिन्न क्षेत्रका व्यक्तिलाई जोडेर मेयर बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी छ ।

चुनावी रणनीतिमा लागेका बालेनले अब ऊर्जामन्त्री कुलमान घिसिङ, अन्य जेनजी समूहसँग पनि छलफल अगाडि बढाउने तयारी थालेका छन् ।

बालेनको टीमले विकल्पमा ‘हाम्रो नेपाल पार्टी’लाई पनि सम्पर्कमा राखेका छन् । दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।