ओली सुकुम्वासीको पक्षमा बोलेपछि मेयर बालेनले दिए चेतावनी


काठमाणडु – काठमाणडु महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति जवाफ फर्काएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीलाई जवाफ दिएका हुन्

मंगलबार ओलीले सुकुम्वासी वस्तिमा डोजर चलाउने महानगरको कदम गलत भएको बताएका थिए । ‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् रु गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ?’, अध्यक्ष ओलीले भने ।

ओलीलाई जवाफ दिँदै मेयर बालेनले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको दावी गरे । त्यस्तै ओलीले आफू सरकारमा हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप उनले लगाए ।

‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डुको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे,’ बालेनले फेसबुकमार्फत भनेका छन् ।

मेयर बालेनले अध्यक्ष ओलीलाई कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने काममा नलाग्न समेत चेतावनी दिएका छन् । ‘तपाईँलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन । अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement