हनुमानढोकाको प्रहरी भवन भत्काउने बालेनको प्रस्तावमा आईजीपी थापा सहमत

हनुमानढोकाको प्रहरी भवन भत्काउने बालेनको प्रस्तावमा आईजीपी थापा सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– २०७२ सालको भूकम्प अघिसम्म जिल्ला प्रहरी परिसरका रूपमा प्रयोग हुँदै आएको काठमाण्डुको हनुमानढोकास्थित पुरानो प्रहरी भवन भत्काइने भएको छ।

सांस्कृतिक सम्पदाको संरक्षण र परम्परागत रथ यात्राका लागि आवश्यक संरचना निर्माणका लागि यो निर्णय गरिएको हो।

काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाबीच बुधबार महानगरपालिकामा भएको छलफलपछि भवन हटाउने निर्णयमा सहमति जुटेको हो। छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको पनि उपस्थिति थियो।

दुई रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवन भत्काइएपछि सांस्कृतिक महत्व बोकेको पोखरीलाई पुनःनिर्माण गरिने निर्णय भएको महानगरले जनाएको छ।

मेयर शाहले भने, “हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्व जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परा कायम राख्न यो पोखरी निर्माण आवश्यक छ।”

छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको हालको स्थान (जुन तत्कालीन नगर पञ्चायतको नाममा रहेको जग्गामा अवस्थित छ) त्यहाँ ट्राफिक टावरसहितका नयाँ भवन निर्माण गर्ने प्रस्ताव पनि उठाइएको छ।

यसका लागि नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई लेआउट डिजाइनको जिम्मेवारी दिइएको छ।

यस्तै मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो  ।

प्रहरी महानिरीक्षक दीपक थापाले सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक रहेको बताउँदै महानगरसँगको सहकार्यले प्रहरीका योजनाहरूलाई प्रभावकारी बनाउन सकिने बताए ।