बालेन र कुलमानबीच छलफल जारी

बालेन र कुलमानबीच छलफल जारी


काठमाण्डु – निकै चर्चामा रहेको वैकल्पिक राजनीतिक शक्ति बनाउने विषयमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन साह र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङबीच शनिबार निर्णायक छलफल हुँदैछ ।

दुई नेताबीच अहिले छलफल चलिरहेको छ । तर छलफलको स्थान स्थल भने गोप्य राखिएको छ । उनीहरूबीच वैकल्पिक राजनीतिक शक्ति बनाउने विषयमा छलफल भइरहेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्नुअघि बालेनले घिसिङसँग छलफल गर्न लागेका हुन् ।

मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच शनिबार नै सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ । । दुवै नेताबीच रास्वपालाई नै वैकल्पिक शक्तिको केन्द्र बनाउने सहमति छ।

तर वैकल्पिक शक्तिमा अन्य नेताहरूलाई कसरी समेट्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि दुई नेताबीच छलफल भइरहेको जनाइएको छ ।

शुक्रबार राति बालेन आफूनिकटका व्यक्तिहरुसँग गोदाबारीमा बसेका थिए । घिसिङसँग छलफल सकारात्मक भए बालेन र लामिछानेबीच शनिबार नै थप छलफल हुने र सहमतिमा हस्ताक्षर पनि हुन सक्ने स्रोतले बताएको छ ।