काठमाण्डु – कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित अत्याधुनिक सुख्खा बन्दरगाह (एकीकृत जाँच चौकी) को शिलान्यास भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त रूपमा गर्ने चर्चा भारतमा भएको छ ।
भारतीय सञ्चारमाध्यम जागरणको अनलाइन संस्करणले दुवै प्रधानमन्त्रीले सुख्खा बन्दरगाहको शिलान्यास गर्ने समाचार प्रकाशित गरेको छ ।
शिलान्यासको महत्वपूर्ण कार्यका लागि उत्तराखण्डका क्याबिनेट मन्त्री सतपाल महाराजले भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री पुष्कर सिंह धामीप्रति आभार प्रकट गरेका छन् । चम्पावतका जिल्ला अधिकारी मनिष कुमारका अनुसार शिलान्यासको औपचारिक मिति छिट्टै घोषणा गरिनेछ ।
ल्यान्ड पोर्ट्स अथोरिटी अफ इन्डिया र उत्तराखण्ड सरकारको सहयोगमा निर्माण हुन लागेको परियोजनाका लागि मन्त्री महाराज लामो समयदेखि प्रयासरत थिए । चम्पावतको बनबसा क्षेत्र र नेपालको महेन्द्रनगर सीमामा विकास हुन लागेको बन्दरगाहलाई उनले २ देशबिचको सम्बन्ध मजबुत बनाउने ‘मैत्री सेतु’को संज्ञा दिएका छन् ।
समाचारअनुसार परियोजनाको पहिलो चरणका लागि करीब ५ अर्ब भारतीय रुपैयाँ विनियोजन गरिएको छ । वातावरणीय स्वीकृति र ८४ एकड वन क्षेत्रको जग्गा हस्तान्तरण लगायतका सम्पूर्ण कानुनी प्रक्रियाहरू पूरा भइसकेका छन् ।
सुख्खा बन्दरगाहभित्र एउटै परिसरमा भन्सार (कस्टम), अध्यागमन (इमिग्रेसन), सुरक्षा, कार्गो टर्मिनल, यात्रु टर्मिनल र स्वास्थ्य इकाइहरू रहनेछन् । यसले सीमामा व्यापार र आवतजावतलाई एकीकृत, छिटो र सुरक्षित बनाउनेछ ।
बन्दरगाहको निर्माणपछि किसान र साना उत्पादकहरूले नेपाली बजारसम्म सिधै पहुँच पाउनेछन् । ढुवानी खर्चमा कमी आउनुका साथै स्थानीय उत्पादनको मूल्य अभिवृद्धिमा सहयोग पुग्नेछ ।




प्रतिक्रिया