काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो संवाद भयो । बालेन मंसिर ७ मा भारतबाट फर्किएपछि भएको यो भेटघाटमा रविले सरकारबारेका कयौँ गम्भीर विषय उठान गरेका छन्।
दुई नेताबीचको भेटमा बालेन नेतृत्वको सरकारका विवादास्पद कदम र निर्णयदेखि पार्टी र सरकारबीचको समन्वय अभावबारे पनि लामो छलफल भएको छ।
दुई नेताबीच ५ घण्टा लामो वार्ताले बालेनलाई दोस्रो पटक शुक्रबार शीतल निवास पुर्याएको छ। मंसिर ६ मा भारत जानुअघि राष्ट्रपतिलाई जानकारी गराउन आवश्यक नठानेका उनी रविसँगको छलफलपछि शुक्रबार शीतल निवास छिरे।
त्यसभन्दा पहिले सभापति लामिछाने आफैं शीतल निवास पुगेका थिए । सुनसरीको कप्तानगञ्ज तनावपछि साउन १४ गते बालेन शीतल निवास छिरेका थिए । राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न उनी शीतल निवास पसेको यो दोस्रो घटना हो ।
भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच बिहीबार भएको भेटमा मुख्यतः संसद् अधिवेशन आह्वान, भारत भ्रमणका उपलब्धि, सीमा विवाद र टनकपुरको विषय नउठेको प्रसंग तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै वार्ताबारे कुराकानी भएको थियो।
त्यसका अतिरिक्त प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन, पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, गृहमन्त्री सुधन गुरुङको भूमिका र सरकार तथा पार्टीबीचको समन्वयबारे पनि रविले बालेनसँग चासो राखेका थिए।
रास्वपा उच्च स्रोतका अनुसार भेटमा रविले सरकारका केही निर्णय र काम-कारबाहीबारे पार्टीलाई जानकारी नगराइएको विषय उठाएका थिए। विशेषगरी दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाइएको निर्णय र मुख्यसचिव अर्याल पक्राउ परेको घटनाबारे उनले प्रधानमन्त्रीसँग जानकारी मागेका थिए।
‘सरकार सानासाना कुरामा अल्झिएर विवादास्पद हुनुहुँदैन भन्ने सभापतिज्यूको कुरा थियो। पूर्वमुख्यसचिव पक्राउसँगै आईजीपी फेरबदलको विषयमा सभापतिज्यूले गम्भीर चासो राख्नुभयो,’ रविनिकट स्रोतले भन्यो, ‘शक्तिशाली सरकार हल्का रूपमा प्रस्तुत हुनुहुँदैन। जुनसुकै विषयमा तयारी गरेर गम्भीरताका साथ अघि बढ्नुपर्छ भन्ने उहाँको धारणा थियो। गृहमन्त्री गुरुङको भूमिका र प्रधानमन्त्रीसँगको समन्वयबारे पनि कुराकानी भयो।’
रविले चासो राखेपछि प्रधानमन्त्री शाहले सरकार विधि, नीति र कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको भन्दै ढुक्क रहन आग्रह गरे। पार्टीसँग हरेक निर्णयमा परामर्श गर्न सम्भव नहुने बताउँदै उनले केही विषयमा सरकारले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्ने बताएका थिए। शाहले त्यही कुरा शुक्रबार राष्ट्रपतिसमक्ष पनि राखे । उनले रविलाई दिएजस्तै जवाफ शुक्रबार राष्ट्रपतिलाई दिए ।
‘आवश्यक परेरै अध्यादेश ल्याइएको हो। अध्ययन गरेर तपाईंले प्रक्रिया अगाडि बढाइदिनुहोला। संविधान र कानुनभन्दा बाहिर गएर कुनै पनि काम गरेका छैनौँ। संविधान र कानुनको अधीनमै गतिविधि अघि बढेका छन्,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

रविको चासो
सरकारका पछिल्लो समयका केही निर्णयमा पार्टीसँग पर्याप्त समन्वय नगरेको भन्दै रास्वपाभित्र असन्तुष्टि देखिँदै आएको छ। सरकारका निर्णयको राजनीतिक जिम्मेवारी अन्ततः पार्टीले नै लिनुपर्ने भएकाले संवेदनशील विषयमा पार्टी नेतृत्वलाई जानकारी गराउनुपर्ने धारणा रविले राखेका थिए ।
विशेषगरी प्रहरी नेतृत्व परिवर्तन र पूर्वमुख्यसचिव पक्राउको विषयमा उनले प्रधानमन्त्री शाहसँग गम्भीर चासो राखे। सरकारले कानुनी प्रक्रिया पूरा गरे पनि निर्णय शैली र त्यसको राजनीतिक प्रभावबारे सचेत रहनुपर्ने रविको भनाइ थियो ।
प्रधानमन्त्री शाहले भने आफूले हरेक विषयको अध्ययन र परामर्श गरेरै निर्णय लिने गरेको बताएका थिए। केही निर्णयमा कमजोरी हुन सक्ने स्वीकार गर्दै उनले त्यसलाई सच्याउँदै अघि बढिरहेको जवाफ रविलाई दिए। देशलाई नोक्सान पुर्याउने गरी कुनै काम नगरेको जवाफ उनले दिए । शाहले त्यही कुरा दोस्रो पटक राष्ट्रपतिलाई भेट्दा पनि शीतल निवासमा राखेका छन्।
‘म सबै विषयमा जानकार छु। बाहिर कस्तो रूपमा कुरा आउँछ भन्ने पनि मैले बुझिरहेको छु। त्यसैअनुसार काम भइरहेको छ। केही कुरामा कमजोरी भए होला, तर बिग्रिएको केही छैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘देश बनाउन लागिपरेको छु। बिगार्ने गरी काम गरिएको छैन र हुँदैन पनि।’
प्रधानमन्त्रीले सरकार र पार्टीको कार्यक्षेत्र फरक रहेको भन्दै सबै निर्णयमा पार्टीलाई जानकारी गराउनुपर्ने बाध्यता नरहेको पनि जवाफ दिए । ‘सबै कुरा पार्टीलाई सुनाएर गर्ने कुरा हुँदैन। केही कुरामा सरकारको पनि दायित्व र स्वतन्त्रता हुन्छ। धेरै कुरा सुनाएन भनेर चित्त नदुखाउनुहोला। ठूला निर्णयमा हामी समझदारीमै काम गरिरहेका छौँ। कहिलेकाहीँ साना कुरामा समन्वय नहुँदैमा चित्त दुखाउनुपर्ने अवस्था छैन,’ बालेनले रविलाई भने ।

सांसदको चीन भ्रमण र कांग्रेससँगको टकरावको चर्चा
बालेन-रवि भेटमा रास्वपाका सांसदहरूले चीन भ्रमणका क्रममा कांग्रेससँग जोडेर उठाएको विवादबारे पनि छलफल भएको स्रोतको दाबी छ। पछिल्लो समय प्रधानमन्त्री शाह र नेपाली कांग्रेसका सभापति गगन थापाबीच दूरी बढेर टकरावको अवस्था छ।
यस्तो अवस्थामा रास्वपा सांसद श्रीराम न्यौपाने र समीक्षा बास्कोटासहितले चीन भ्रमणका क्रममा कांग्रेससँग जोडेर दिएको राजनीतिक टिप्पणीले गम्भीर विवाद ल्याएको छ। यसले कांग्रेसको आधिकरिकताबारे सत्तारुढ दललाई पनि विवादमा ल्याउने अवस्था छ। यसबारे पनि रविले बालेनसँग संवाद गरेका छन्।
तर प्रधानमन्त्री शाहले आफू कांग्रेस सभापति गगन थापाविरुद्ध लागेको भन्ने प्रचार अतिरञ्जित भएको जवाफ दिए । उनले त्यसलाई गम्भीर रूपमा नलिन रविलाई आग्रह गरे।
पछिल्लो समय रवि र कांग्रेस सभापति थापाबीच संवाद र निकटता बढेको चर्चा छ । यस्तो अवस्थामा बालेन र गगनबीच दूरी बढेको विश्लेषण भइरहेको छ। कांग्रेसका केही नेताहरूले प्रधानमन्त्री शाहका गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका छन्। शुक्रबार मात्रै कांग्रेस महामन्त्री डीला संग्रौलाले सरकारका गतिविधि सहन नसकिने खालका भएकाले सडक र सदन दुवैतिर आन्दोलन आवश्यक रहेको बताइन् ।

अख्तियार प्रमुख र राजदूत नियुक्तिबारे कुरा
भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्ति र खाली रहेका देशका लागि राजदूत चयनबारेमा पनि छलफल भएको रास्वपाका एकजना शीर्ष नेताले बताए।
अख्तियारका वर्तमान प्रमुख आयुक्त प्रेमकुमार राईको कार्यकाल करिब महिनापछि सकिँदैछ। त्यसपछि नयाँ प्रमुख आयुक्त नियुक्त गर्नुपर्ने जिम्मेवारी सरकारको काँधमा छ । अख्तियार प्रमुखका लागि सम्भावित व्यक्तिबारे दुई नेताहरूबीच छलफल भएको स्रोतको दाबी छ। पूर्वमुख्यसचिवहरू सम्भावित दाबेदार रहेका चर्चा सुरू भइसकेको छ। त्यसकै लागि सम्भावित नामबारे छलफल थालिएको हो।
‘राजदूत नियुक्ति र अख्तियारका प्रमुख आयुक्तबारे केही छलफल भएको जानकारी हामीलाई आएको छ । पात्रबारे कुरा भइसकेको छैन। रविले समन्वयमा काम हुनुपर्ने बताउँदै विवादित व्यक्तिलाई नियुक्त गर्नु नहुने मत राख्नु भएको थियो । त्यसमा बालेन सहमत रहेको बुझेका छौँ।’
उनका अनुसार भेटमा बाहिर आएका विवाद, सरकार र पार्टीबीचको असमझदारी तथा आगामी दिनमा गर्न सकिने समन्वयका विकल्पबारे पनि छलफल भएको थियो।

रविको निष्कर्ष : सरकार र पार्टीबीच समन्वय भएन
सरकार गठन भएको आठ महिनापछि पार्टी र सरकारबीचको सम्बन्धमा देखिएको असमझदारीबारे पनि रविले बालेनसँग कुरा राखेका स्रोतले उल्लेख गरेको छ।
पार्टीलाई जानकारी नदिई सरकारले केही महत्त्वपूर्ण निर्णय एकलौटी गरेको भन्दै रवि र पार्टीका अन्य नेताहरू पनि असन्तुष्ट छन्। रविले सार्वजनिक रूपमा प्रधानमन्त्रीसँग असन्तुष्टि व्यक्त नगरे पनि दोस्रो तहका नेताहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
तर प्रधानमन्त्री शाहले भने सुरुदेखि नै सभापतिले पार्टी सञ्चालन गर्ने र प्रधानमन्त्रीले सरकार चलाउने समझदारी रहेको स्मरण गराए। त्यसैले सरकारका हरेक काममा पार्टीसँग परामर्श नहुँदैमा असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
रविले भने सरकारका गलत निर्णयको अपजस अन्ततः पार्टीले पनि लिनुपर्ने भएकाले संवेदनशील विषयमा समन्वय आवश्यक रहेको बताएका थिए।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले पनि भेटमा पार्टी र सरकारबीचको समन्वयको विषयमा छलफल भएको पुष्टि गरे। उनका अनुसार बाहिर आएका असमझदारीबारे दुवै नेताबीच लामो छलफल भएको छ।
‘पार्टी र सरकारबीचको समन्वयबारे कुराकानी भएको हो। असमझदारीबारे पनि खुलस्त कुराकानी भयो। तर कुनै विवाद भएर छलफल गरिएको होइन। सहयात्राका क्रममा उठेका विषयमा कुराकानी भएको हो,’ बालुवाटार स्रोतले काठमाण्डुपाटीसँग भन्यो।
खरेल भन्छन्- भारत भ्रमण र सदनबारे कुरा भयो

प्रधानमन्त्री र पार्टी सभापतिबीच छलफलका विषयबारे रास्वपाका प्रवक्ता जगदीश खरेलले औपचारिक जवाफ दिए । उनले भारत भ्रमण र संसद् खुलाउने विषयलाई प्रमुख छलफलका रूपमा उल्लेख गरे।
प्रधानमन्त्री भारतबाट फर्किएकाले त्यहाँका उपलब्धिबारे दुई नेताबीच कुराकानी भएको उनले बताए। अन्य विषयमा सभापति लामिछानेले पार्टीका नेताहरूलाई विस्तृत जानकारी गराइनसकेको उनले बताए।
‘स्वाभाविक रूपमा प्रधानमन्त्री भारत भ्रमणबाट आउनुभएका कारण त्यहाँका उपलब्धिबारे दुई नेताबीच कुराकानी भयो। अरू विषयमा चाहिँ सभापतिले हामीलाई जानकारी दिनुभएको छैन। दुई नेताबीचको भेटलाई स्वाभाविक मानौँ,’ खरेलले काठमाण्डुपाटीसँग भने, ‘समग्र कुरा चाहिँ भारत भ्रमण र सदन खुलाउने विषयमै थियो।’
दुई नेताबीचको भेटमा गत चैत १३ गते सरकार बनेपछिका आठ महिने उपलब्धि र मन्त्रीहरूको कार्यसम्पादनबारे समेत कुरा भएको थियो।
‘हिजोको भेटमा सबै कुराकानी भएको छ। धेरै विषयमा सभापतिले अपडेट पाउनुभएको थिएन। सरकारका आठ महिने उपलब्धि र मन्त्रीहरूको कार्यसम्पादनबारे पनि कुराकानी भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘दुवैजना भेट्दा र बाहिरिँदाको भावभंगी हँसिलो देखिएको थियो । केही असमझदारी देखिए पनि यो भेटमा मन माझामाझ भएको छ, धेरै बिग्रिएको अवस्था छैन।’


प्रतिक्रिया