छानबिन प्रतिवेदन बुझाउन मेयर बालेनलाई पत्राचार

छानबिन प्रतिवेदन बुझाउन मेयर बालेनलाई पत्राचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौं महानगरपालिकालाई प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिन प्रतिवेदन पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मेयर बालेन शाहलाई पत्राचार गरेको छ ।

महानगरले छानबिन गरेको अन्तिम प्रतिवेदन पठाउन पत्राचार गरेको हो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालिप्रसाद पराजुलीका अनुसार छानबिन रिर्पाेट बुझाउन मन्त्रालयबाट पत्राचार भएको र रिर्पोट आएपछि मात्रै मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ ।

काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै गुरागाईं छानबिनमा तानिएका थिए । महानगरपालिकाले २०८१ पुस १४ गतेको महानगर प्रमुखस्तरीय निर्णय भन्दै पुस १६ गते शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिलाई महानगर र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि.बीच भएको सम्झौताअनुसार वडा नम्बर–२८ स्थित पुरानो बसपार्कमा बन्दै गरेको टावरको नक्सापास सम्बन्धमा महानगरबाट हालसम्म सम्पादन भएका कार्य प्रचलित कानुन बमोजिम छ÷छैनन् सत्यतथ्य छानबिन सिफारिससहितको प्रतिवेदन पेस गर्ने अधिकार दिएको थियो ।

त्यतिबेला १५ दिनभित्र सिफारिससहित प्रतिवेदन पेस गर्न भनिएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि अर्को समिति बनाइएको थियो ।

पौडेलले राजीनामा दिएपछि महानगरपालिकाले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका शंकर पाण्डेको संयोजकत्वमा सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारी र महानगरपालिकाकै कानुनी सल्लाहकार महेश नेपाल सदस्य रहेको अर्को समिति बनाएको थियो ।

उनीहरूलाई एक महिनाको समय दिइएको थियो । समयावधी गुज्रिएपछि फेरि अनौपचारिक रूपमा दश दिनको समय थप गरिएको थियो । सो समय पनि सकिसकेको छ ।

महानगरले अहिलेसम्म पनि उक्त समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएको छैन । गुरागाईं पुस १७ सम्म बिदामा बसेका गुरागाईंले त्यसपछि कार्यालय आउने तयारी गर्दा मेयर बालेन शाहको सचिवालयले कार्यकक्षमा ताल्चा लगाएको थियो ।

मेयर बालेनले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । छानबिन समितिका संयोजक पाण्डेले रिपोर्ट मन्त्रालयमा बुझाउनेबारे अलमल भइरहेको र अझै समय लाग्ने बताए ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दुई महिनादेखि कुचीकारदेखि मेयरसम्मको तलब रोकिएको छ । महानगरमा दुई हजारभन्दा बढी कर्मचारी छन् ।