नयाँ प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त हुँदै, मन्त्रीहरुको नाममा छलफल जारी

नयाँ प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त हुँदै, मन्त्रीहरुको नाममा छलफल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागुन २१मा भएको निर्वाचनपछि देशले शुक्रबार नयाँ प्रधानमन्त्री पाउँदैछ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई १२ : ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ गराउँदै छन् ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। सोही अवसरमा प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने छ।

प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ हुनेछ ।

शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २ : १५ बजे पदभार ग्रहण गर्ने तय भएको रास्वपाले जनाएको छ ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ। सो दलले बिहिबार नेता शाहलाई संसदीय दलको नेता चयन गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा–५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका हुन् । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेको छ ।
मन्त्रीहरूको नाममा भने छलफल भइरहेको रास्वपा नेताहरुले बताएका छन् । मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेल, सुधन गुरुङ लगायतको नाम चर्चामा छ ।