काठमाण्डु- बिहीबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन बाह्य दबाब परेको विषयमा स्पष्टिकरण दिँदै त्यस्तो दाबीलाई खारेज गरेको छ ।
विगत केही दिनदेखि गृहमन्त्री अर्याललाई हटाउन काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणप्रति सचिवालयले ध्यानाकर्षण भएको जनाउँदै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय रहको स्पष्ट पार्यो ।
प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयको विज्ञप्ति
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयको स्पष्टोक्ति यस्तो बेलामा आएको हो, जतिबेला गृहमन्त्री अर्याललाई हटाउन प्रमुख शाहले दबाब दिइरहेको भनी समाचार आएको छ ।
तर प्रमुख शाह निकट स्रोतले गृहमन्त्री अर्यालको कार्यबाट उनी असन्तुष्ट रहेको र उनलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको दाबी गरे ।
जेन जी प्रदर्शनमा दमन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ नगरेकामा शाह मन्त्री अर्यालप्रति असन्तुष्ट भएका हुन् । उनले आफ्नो असन्तुष्टि प्रधानमन्त्री कार्कीसँग हालै भएको भेटमा पनि प्रकट गरेको स्रोतको दाबी छ ।
सरकार गठनमा निर्णायक भूमिका निर्वाह गरेका शाहले यसबीचमा प्रधानमन्त्री कार्कीलाई दुई पटक भेटिसकेका छन् । प्रमुख शाहले प्रधानमन्त्री कार्कीसँग भएको भेटमा ओली र लेखकलगायतलाई पक्राउ गर्न दवाब दिएको बताइएको छ ।
प्रधानमन्त्रीसँग भेटको भोलिपल्टै सामाजिक सञ्जालमा एउटा अभियान सुरु भयो, ‘कायर गृहमन्त्री तुरुन्त राजीनामा दे ।’ त्यो ह्याशट्याग बालेनकै निकट समूह एमआरआर र जेन जी आन्दोलनका केही कार्यकर्ताले तयार गरेको अभियान भएको पनि शाहका निकटस्थहरू बताउँछन् ।
पेशाले कानून व्यवसायी रहेको गृहमन्त्री अर्यालय मन्त्री हुनुभन्दा अघि काठमाण्डु महानगरको कानूनी सल्लाहकार थिए ।
कुनै बेला आफ्नै कानुनी सल्लाहकार रहेका अर्यालसँग बालेनको सम्बन्ध पछिल्लो समय बिग्रिएको छ । तर अहिले ओलीलगायतलाई पक्राउ नगरेकोमा बालेन अर्यालसँग आक्रोशित भएका हुन् ।
बालेनका समेत विश्वासपात्र मानिने रुटिन अफ नेपाल बन्द पेजका सञ्चालक भिक्टर पौडेलले पनि गृहमन्त्री अर्यालको राजीनामा आफ्नो सर्कलमा सर्कूलर गरेका हुन् ।
जेन–जी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो । प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग बालेनको छ ।
शाहका चार माग
प्रधानमन्त्री कार्कीसँग भएको पछिल्लो भेटमा शाहले मुख्य रूपमा चार वटा बुँदा उठाएका छन् ।
पहिलो जेनजी आन्दोलनका बेला दमनको निर्देशन दिने ओली र लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने, दोस्रो ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईलाई नियन्त्रणमा लिनुपर्ने, तेस्रो सरकारका मन्त्रीहरूको कार्यक्षमता र गति सुधार्दै जेनजी तर्फको मन्त्री चयनको छिटो निर्णय र चौथो गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीमा सुधार र सम्भावित प्रतिस्थापनका बारेमा ध्यान दिनुपर्ने ।
शाहले उठाएका यी बुँदाहरू मध्ये तेस्रो नम्बरको बुँदा कार्यान्वयन भइसकेको छ । सरकारमा जेन जीको प्रतिनिधित्व गर्दै बब्लु गुप्ता खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।
अप्ठ्यारोमा प्रधानमन्त्री
प्रमुख शाहको निरन्तरको दबाबले प्रधानमन्त्री कार्की अप्ठ्यारोमा परेकी हुन् । स्रोतका अनुसार शाहले गृहमन्त्री अर्याललाई हटाउन निरन्तर दबाब दिइरहेका छन् ।
बालेनकै समूहबाट सामाजिक सञ्जालमा गृहमन्त्रीविरुद्ध अभियानसमेत चल्न थालेको छ । केही वर्षअघि ‘इनफ इज इनफ’अभियान चलाएर चर्चामा आएका अभियन्ता ‘ई’ ले पनि गृहमन्त्रीलाई हटाउने खेल सुरु भएको संकेतसामाजिक सञ्जाल फेसबुकमार्फत गरेका छन् ।
जेन जीका नाममा विभिन्न समूह र प्रमुख शाहको अस्वाभाविक दबाब तथा प्रभावका कारण काम गर्न अप्ठ्यारो भएको राजनीतिक दलहरूसँगको छलफलमा स्वयं प्रधानमन्त्री कार्कीले संकेत गरेकी थिइन् ।
तर गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले जेन जी आन्दोलनमाथिको दमन र त्यसपछिको विध्वंशबारे छानबिन गरिरहेका बेला ओली र लेखकलाई पक्राउ गर्न कानुनी तथा व्यावहारिक कठिनाइ बुझाइ पूर्वप्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीको छ ।
कुनै बेला ‘सिंहदरबार जलाउँछु’ भनेर फेसबुकमा स्टाटस लेखका शाह सिंहदरबार जलेपछि नैतिक रूपमा अप्ठ्यारोमा परेका छन् । सोही कारण पनि पुराना दल र नेताहरू फर्किँदा आफू अप्ठ्यारोमा पर्ने डर उनमा रहेको राजनीतिक वृत्तमा चर्चा छ ।
ओली र लेखकमात्र होइन, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि पक्राउ गरेर उनको गतिविधि नियन्त्रण गर्नुपर्ने दबाब शाहले सरकारलाई दिँदै आएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजकसमेत रहेका व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।




प्रतिक्रिया