काठमाण्डु – टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुभकामना दिएका छन् ।
शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै क्रिकेटले नेपाललाई राष्ट्रिय एकता, पहिचान र सम्भावनाको बाटो देखाएको उल्लेख गरेका छन्।
सन्देशमा शाहले नेपाली क्रिकेटको यात्रालाई ऐतिहासिक परिप्रेक्ष्यसँग जोड्दै व्याख्या गरेका छन्। उनका अनुसार सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो। बंगलादेशमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको स्मरण गराएका छन्।
शाहले त्यस विश्वकपमा हाल समानुपातिक सांसदका उम्मेदवार ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। आजदेखि नेपाल तेस्रो पटक विश्वकप क्रिकेट खेल्न लागेको उल्लेख गर्दै उनले क्रिकेटले देशलाई जोड्ने, खुशी दिने र अन्तर्राष्ट्रिय रूपमा नेपाल तथा नेपालीलाई चिनाउने माध्यम बनेको बताएका छन्। साथै, क्रिकेटले व्यवसायिक सम्भावनासमेत देखाएको उनको भनाइ छ।
उनले क्रिकेटको आगामी दिशा, लक्ष्य र रणनीतिक जिम्मेवारी पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई दिइएको उल्लेख गर्दै मल्लको अनुभव, अनुशासन र नेतृत्व क्षमताले नेपाली क्रिकेट मात्र होइन, समग्र खेलकुद विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
शाहले लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण खेलाडीलाई शुभकामना दिँदै ‘सिंगो देश तपाईंहरूको साथमा छ’ लेखेका छन्।
आइसीसी टी(२० विश्वकप खेल्न भारतको मुम्बई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज इंग्ल्यान्डजस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग पहिलो भेट हुन लागको हो। समूह सीमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।





प्रतिक्रिया