काठमाण्डु- गत हप्ता भएको निर्वाचनमा चर्चाको केन्द्रमा रहेका बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता हुन् । उनी आगामी प्रधानमन्त्रीका एक प्रमुख दाबेदार मानिएका छन् ।
निर्वाचनमा रास्वपाले बहुमत ल्याएपछि बालेनको लोकप्रियता झन् बढेको छ । अहिले देशभर उनको लहर छाएको छ ।
बालेन प्रधानमन्त्री बन्ने सम्भावना बढेपछि उनकी दिदी सुजाता शाह अत्यन्त खुसी छन् । बीबीसी हिन्दी सेवासँगको कुराकानीमा सुजाताले बालेनको नेतृत्वमा देशमा शान्ति, स्थिरता र विकास हुने विश्वास व्यक्त गरिन् ।
सुजाता पेशाले चित्रकार हुन् । उनले कला–पारखी पति हरिश सेजेकनसँग विवाह गरेपछि लामो समयदेखि भारतको बेङलुरुमा बस्दै आएकी छन् ।
‘म उनलाई सामान्य राजनीतिज्ञजस्तो मान्दिनँ । उनको भाषण शैली पनि परम्परागत राजनीतिज्ञजस्तो छैन । उनी त्यस्तो व्यक्ति हुन् जसको मनमा कसैप्रति द्वेष छैन । उनी आफ्ना नागरिक र छिमेकी दुवैको ख्याल राख्ने व्यक्ति हुन्,’ बालेनको व्यक्तित्वबारे उनी भन्छिन् ।
सुजाताले युवालाई देशभित्र रोजगारी र कामको अवसर हुनुपर्ने बालेनको चाहना रहेको र उनी राजनीतिमा पनि यही उद्देश्यका लागि लागेको बताइन् ।
‘व्यक्तिगत रूपमा मलाई राजनीतिमा कुनै रुचि छैन । राजनीतिमा त बालेन मात्रै छन् । देशबाट धेरै युवाहरू विदेशिएका छन् ।
मेरा साथीहरूमध्ये कोही पनि नेपालमा छैनन् । देश खालीजस्तो भएको छ । बालेन मानिसहरूलाई स्वदेश फर्किन अपिल गरिरहेका छन् ताकि आउने पुस्ताले राम्रो जीवन पाउन सकून् । यो उनी आफ्नो जिम्मेवारी ठान्छन्,’ उनले भनिन् ।
भाइ प्रधानमन्त्री बन्न सक्छन् भन्ने उनले कहिल्यै कल्पना गरेकी थिइनन् । ‘जब उनी काठमाण्डुका मेयर बने र मन्दिरहरूको पुनर्निर्माण तथा राजधानीको संस्कृति सुधार गर्ने काम गरे, त्यसपछि हामीलाई लाग्न थाल्यो कि उनी प्रधानमन्त्री पनि बन्न सक्छन्,’ उनले भनिन् ।
उनका अनुसार बालेन युवाहरूमा अत्यन्त लोकप्रिय छन् । ‘बालबालिकाका लागि उनी हिरोजस्तै छन् र वृद्धहरू उनलाई भगवानजस्तै मान्छन्,’ उनले भनिन् ।
सुजाताका अनुसार बालेन शाह पहिलो पटक २०१५ मा बेंगलुरु गएका थिए । त्यसबेला नेपालमा आएको विनाशकारी भूकम्पपछि उनी आफ्नी दिदीलाई भेट्न गएका थिए । त्यतिबेला उनी सिभिल इन्जिनियर थिए । पछि उनले बेंगलुरुकै नित्ते मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्ने निर्णय गरे । उनको सपना थियो–नेपाललाई भूकम्पको जोखिमबाट सुरक्षित बनाउने ।
राजनीतिमा आउनुअघि बालेन र्यापरका रूपमा पनि लोकप्रिय थिए । उनका गीतहरूमा सामाजिक विषयहरू समेटिएका हुन्थे, जस्तै सडकमा बस्ने बालबालिकाको जीवन ।
सुजाताका अनुसार उनका शब्दहरूले मानिसको मन छुन्थे । सम्भवतः यसमा उनका पिता, जो आयुर्वेदिक चिकित्सक र कवि थिए, उनको पनि प्रभाव थियो ।
सुजातालाई आफ्ना भाइको स्वास्थ्यबारे सधैं चिन्ता लागिरहन्छ । चुनावी अभियानका क्रममा उनले बालेनलाई फोन नगरी स्वास्थ्य अवस्थाबारे बुझ्न सन्देश पठाइरहन्थिन् ।
‘म सधैं सोचिरहन्छु, उनी (बालेन) आफ्नो स्वास्थ्यको ख्याल राखिरहेका छन् कि छैनन् । बीचमा उनी निकै कमजोर भएका थिए । उनी देश सम्हाल्न त्यहाँ छन्, तर मेरो चिन्ता यही छ कि उनी आफ्नो ख्याल राखिरहेका छन् कि छैनन्,’ उनी भन्छिन् ।
‘मेरो लागि उनी केवल भाइ मात्र होइनन् । कहिलेकाहीँ म आफ्नो छोरा प्रान्शुलाई बोलाउन खोज्दा गल्तीले बालेनको नाम बोलिदिन्छु । मलाई आफ्नो छोरामा बालेन देखिन्छ र बालेनमा मेरो छोरा । ठूलो दिदीले सानो भाइलाई धेरैजसो आमाजस्तै हेर्छ,’ उनी बताउँछिन् ।




प्रतिक्रिया