र्‍यापरदेखि कार्यकारी प्रमुखसम्म

र्‍यापरदेखि कार्यकारी प्रमुखसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – र्‍याप संगीतको मञ्चबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्दै बालेन शाह प्रधानमन्त्री बनेका छन् ।

काठमाण्डु महानगरपालिकाका पूर्व मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र अर्थात् बालेन शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शुभ साइत १२ बजेर ४३ मिनेटमा प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उनले काठमाण्डु महानगरपालिकाको मेयर पदमा ऐतिहासिक जीत हासिल गरेका थिए ।

त्यतिबेला लौरो चुनाव चिह्न लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए ।

उनी सन् २०२३मा विश्वकै प्रसिद्ध टाइम म्यागेजिनको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा पनि परेका थिए ।

इन्जिनियरिङ पृष्ठभूमिका बालेन सन् २०१३ मा नेपालकै चर्चित र्‍याप ब्याटल लिग र बर्जमार्फत सार्वजनिक रूपमा परिचित भएका थिए । तर उनको राजनीतिक यात्रा भने योजनाबद्ध रूपमा अघि बढेको हो ।

मेयर पदमा उम्मेदवारी दिनुभन्दा करीब साढे २ वर्षअघिदेखि उनले तयारी थालेका थिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि बनेको राजनीतिक परिस्थितिमा जेनजी आन्दोलनका कार्यकर्ताहरूले अन्तरिम सरकारको नेतृत्वका लागि बालेन शाहलाई पहिलो रोजाइका रूपमा अघि सारेका थिए ।

तर बालेनले अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका थिए । उनको यो निर्णयले उनलाई छोटो अवधिको सत्ताभन्दा दीर्घकालीन राजनीतिक अवसरतर्फ अघि बढ्न सहयोग गरेको देखिन्छ ।

यसैबिच २०८२ माघ ४ गते बालेन औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । त्यसको भोलिपल्ट उनले जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका थिए ।

उनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरे । यस क्षेत्रमा बालेनको उम्मेदवारीले राष्ट्रिय तथा अन्तर्राट्रिष्य राजनीतिमा ठूलो चर्चा र बहस सुरु गरेको थियो ।

बालेन सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छन् । फेसबूकमा उनका करीब ३५ लाखभन्दा बढी फलोअर्स छन् र उनी प्रायः त्यही माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद गर्छन् ।

यद्यपि उनको स्पष्ट र कहिलेकाहीँ आक्रामक अभिव्यक्तिका कारण विवाद पनि हुने गरेको छ । उनले विगतमा अमेरिका, भारत र चीनजस्ता शक्तिशाली देश तथा नेपालका प्रमुख राजनीतिक दलहरूबारे कडा टिप्पणी गरेका थिए ।

शाहको जन्म १४ वैशाख २०४७ मा काठमाण्डुको नरदेवीमा भएको हो । उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन् ।

आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन् । उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी हो ।

उनका पिता शाह आयुर्वेद चिकित्सक थिए, जसको निधन बालेनको मुख्यधारको राजनीतिमा प्रवेश हुनुअघि भएको थियो ।

काठमाण्डुको नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन् । उनले स्नातक तहको अध्ययन काठमाण्डुमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन् । त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए ।

उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन् । भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ ।

हाल बालेन काठमाण्डु विश्वविद्यालयमा परम्परागत पूर्वाधारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गरिरहेका छन् ।

यसरी उनी प्राविधिक ज्ञान, शैक्षिक पृष्ठभूमि र लोकप्रिय राजनीतिक शैलीलाई एकसाथ अघि बढाइरहेका छन् ।

२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए । भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए । बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी र्‍याप ब्याटल गायक पनि हुन् ।

उनी नेपाली र्‍याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन् । उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन् ।

र्‍याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन् । सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए । यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ ।