काठमाण्डु– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटनालाई लिएर आलोचना गरेका हुन्।
उनले भने, ‘आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेश भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ ! यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिऊँ कि दुख व्यक्त गरौँ। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ।’
प्रधानमन्त्रीको व्यवहारले जनताको मन कुँडिएको, देशको शिर झुकेको र संसद्को गरिमामा दाग लागेको अनुभूति भएको बताए। बजेट अधिवेशनको सन्दर्भमा बोल्दै उनले सरकारले संसद्लाई पर्याप्त महत्त्व नदिएको आरोप लगाए।




प्रतिक्रिया