अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था नेपालमै मिलाउन प्रधानमन्त्रीको निर्देशन

अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था नेपालमै मिलाउन प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्ग्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’का पदाधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

सो क्रममा पदाधिकारीहरुले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेकामा प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गरेका हुन् ।

यस्तै, अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए ।

नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएका छन् । प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए।

प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राखेका थिए। प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उनीहरुको मागअनुरुप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक छन् ।

साथै, अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानूनी रुपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उनले बताए।

छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।