काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाले पार्टीको केन्द्रीय समितिमा उम्मेदवारी दिएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिएका छन्।
प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिएका शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय छन्।
यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
पछिल्लो समय ढकाल पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका हुन्।
उनी काठमाण्डु महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए। उनले महानगरपालिकामा सूचना प्रणाली विकास, डिजिटल प्रशासन तथा ‘डाटा’मा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यसैगरी प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ ।
उनी हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट विश्व स्वास्थ्य नीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएकी हुन्।




प्रतिक्रिया