बालेनले राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्नुको मोह के हो ?

बालेनले राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्नुको मोह के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाटलाई निरन्तरता दिएका छन् । स्वतन्त्रबाट काठमाण्डु महानगरको मेयरमा विजयी भएका शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।  

हालै सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाण्डु महानगरमा बालेनको मतान्तर बढ्दै गएसँगै उनी ओलीलाई भट्न बालकोट पुगेका थिए । ओली र बालनको ‘वान टु वान’ वार्ता के विषयमा भयो भन्ने खुलाइएको छैन । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् ।

बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकाले बालेनलाई ओलीले शुभकामना समेत दिएका थिए । त्यस्तै काठमाण्डु महानगरको मेयरमा विजयी भएपछि बालेन केही दिन अघि मात्रै प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए । बालेनले प्रधानमन्त्री देउवासँग काठमाण्डु महानगरको विकासका लागि सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले काठमाण्डु महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको स्मरण गर्दै ५ वर्षको कार्यकालमा पूर्ण समर्थन रहने बताएको जनाइएको छ ।  ‘तपाई ले चमत्कार गर्नुभयो । म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा नि कांग्रेसको बहुमत छ । विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ ।’ देउवाले भनेका थिए ।

त्यसैगरी शनिबार मात्रै मेयर बालेन प्रचण्ड भेट्न खुमलटार पुगे । भेटका क्रममा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी बालेनलाई बधाईं दिँदै प्रचण्डले उनको जित क्रान्ति भएको बताएका छन् ।  ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ । त्यसैले तपाईंलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ।’ प्रचण्डको भनाई उद्यृत गर्दै उनको निजी सचिवालयले जानकारी दिएको छ ।  प्रचण्ड र बालेनबीच काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापन लगायतसमग्र विकासका विषयमा पनि कुराकानी भएको जनाइएको छ । काठमाण्डु महानगरमा विकासका परियोजना अगाडि बडाउनको लागि राजनीतिक दलले साथ दिए मात्र बालेनलाई काम गर्न सहज हुने देखिएको छ ।

त्यस कारण पनि बालेनले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । शीर्ष नेताहरुको भेटवार्तामा  बालेनले काठमाण्डु महानगरको विकासका लागि साथ सहयोग गर्न आग्रह गरेका छन् । काठमाण्डु महानगरमा उनले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले देउवा र प्रचण्डसँगको भेटवार्तामा फोहोर व्यवस्थापन गर्ने विषयमा पनि छलफल गरेका छन् । मेयर बालेनले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताएका छन् ।  मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ, उनले भने, ‘मलाई काम गर्न दिनुस् ।’ आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।  

बालेनले पछिल्लो समय एउटै शब्द प्रयोग गरिरहेका हुुन्छन्- मलाई काम गर्न दिनुहोस् । उनले आफूलाई काम गर्न सहज बातावरण बनाउनको लागि समेत राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको दावी गरेका छन् । बालेनले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटले आफूलाई ऊर्जावान् बनाएको बताएका छन् ।  काठमाण्डुको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए ।