बालेन समूह समानुपातिक सूची बनाउँदै, ४० जनाको नाम सिफारिश गर्ने

बालेन समूह समानुपातिक सूची बनाउँदै, ४० जनाको नाम सिफारिश गर्ने


काठमाण्डु – आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले आफ्‌नो समूहबाट समानुपातिक उम्मेदवारहरूको बन्द सूची तयार गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा सिफारिस गर्नुपर्ने समानुपातिक उम्मेदवारहरूको बन्द सूची बनाउन शाहले तयारी गरेका छन् । रास्वपासँग सहमति गरे अनुसार निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको बन्द सूचीमध्ये बालेनको भागमा ४० जना परेका छन् ।

आयोगको आधिकारिक सफ्टवेयर र एक्सेल सिट प्रयोग गरेर क्लस्टरहरूको व्यवस्थापन गरिँदैछ । निर्वाचन कानुनअनुसार समानुपातिक प्रणालीमा दलित, महिला, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम र खस–आर्यको निश्चित प्रतिशत र क्रम मिलाउनुपर्ने हुन्छ ।

उम्मेदवारको सूचीमा कसलाई कहाँ राख्ने भन्ने विषयमा बालेन समूहभित्र अहिले छलफल चलिरहेको छ । सोमबार साँझसम्म बालेन समूहले आफ्नो भागमा परेको ४० जनाको नाम सिफारिश गर्नेछ ।

बालेन समूहका एक नेताका अनुसार बालेन आफैँ विभिन्न क्लस्टरका प्रभावशाली र योग्य व्यक्तिहरूसँग प्रत्यक्ष संवादमा छन् ।

बालेनको टोलीले अन्य नयाँ राजनीतिक शक्तिहरूको गतिविधिलाई पनि नजिकबाट नियालिरहेको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी भित्र भइरहेको आन्तरिक भोटिङ र उनीहरूको उम्मेदवार छनोट प्रक्रियालाई ध्यानमा राख्दै बालेनले आफ्नो रणनीति तय गरिरहेका छन् ।