काठमाडौं – दैवी शक्ति हासिल गर्न र यौनइच्छा जगाउन भन्दै एक झाँक्रीले बालकको ज्यान लिएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरमा शत्रुधन महतोले यस्तो कृत्य गरेको प्रहरीले जानकारी दिएको छ ।
शत्रुधनले शम्भु साहका अढाइ वर्षीय छोरा बालक आर्यनको हत्या गरेको बयान प्रहरीमा दिएको बताइएको छ । घटना गएको वैशाख २४ गतेको हो । अघिल्लो दिन हराएका बालक आर्यन अर्को दिन घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए ।
सामान्य परिवारका आर्यनको हत्याको कारण पत्ता लगाउँदै जाँदा झाँक्रीले मरेको यौन इच्छा जगाउन र दैवी शक्ति प्राप्त गर्न बालकको घाँटी रेटेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ । बयानमा महतोले हत्या स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
महतोको साथबाट प्रहरीले एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोती बरामद गरेको छ । घटनाको जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी ईकाइ कार्यालय जनकपुर र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले अनुसन्धान गरिरहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
अनुसन्धानका क्रममा प्रहरी टोलीले शवकै विश्लेषण गरेर नयाँ जुक्ति निकाल्यो । एसपी खड्काले भने, ‘बालकको घाँटी पछाडिबाट काटिएको थियो । यस्तो देखेपछि हामीले गाउँका सबै धामीझाँक्रीको विवरण संकलन गरेर अनुसन्धान अगाडि बढायौं । अनुसन्धानकै क्रममा महतोको बयान शंकास्पद हुँदै गयो ।’ त्यसपछि महतो आफैंले अपराध स्वीकारेको खड्काले बताए । बयानमा क्रममा महतोले आफूले अपार दैवीशक्ति पाउन र यौनइच्छा फर्काउनका लागि बालकको ज्यान लिएको स्वीकार गरेको खड्काले जानकारी दिए ।
‘श्रीमती र म विगत दुई वर्षदेखि सँगै सुत्न छाडेका थियौं । मेरो यौनशक्ति मरेको थियो । नरबली दिएपछि झाँक्रीको शक्ति पनि बलियो हुने र मागेको सबैकुरा पुग्ने सुनेको थिएँ । त्यसपछि मैले आर्यनलाई आफ्नो शिकार बनाउने सोचिसकेको थिएँ । त्यही योजनाअनुसार मैले मारेको हुँ,’ महतोको बयान उद्धृत गर्दै खड्काले भने ।
प्रहरीले उनलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको बताएकाे छ ।




प्रतिक्रिया