विराटनगर – सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार गर्यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो।
उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्रहरी पक्राउ गरेको छ।बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार गर्यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो।
उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्। त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा प्रहरीसम्म पुगिन्। उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले कारबाही थालेको छ।
काठमाण्डुकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै एक समूहले २०७६ पुस महिनामा विराटनगर बोलायो। उनलाई जोगबनी नाका हुँदै बलि दिनकै लागि भारत लैजान खोज्ने ७ जना प्रहरीको फन्दामा परे। काठमाण्डुको नयाँ बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाले मोडलिङका लागि ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनीसँग कुरा गरेकी थिइन्।
धर्म, खानपानजस्ता विषयमा उक्त गिरोहले प्रश्न गरेपछि ती युवतीले आफू फन्दामा परेको थाहा पाएर प्रहरीलाई खबर गरिन्। प्रहरीले उनलाई पछ्याउँदा घटनामा संलग्न ७ मध्ये ६ जना विराटनगर र १ जना काठमाण्डुबाट पक्राउ परेका थिए।
प्रदेश–१ को सीमा क्षेत्र प्रयोग गरी भारतमा बलि दिनका लागि युवती लैजाँदै गरेको समयमा उद्धार गरिएका र फुत्किएका यी तीन प्रतिनिधि घटना हुन्। यी घटना युवती फुत्किएपछि र घटनामा संलग्न पक्राउ भएपछि सार्वजनिक भए। भारतमा ठूला विकास निर्माणका काम सुरु गर्दा युवतीको बलि दिनुपर्छ भन्ने अन्धविश्वास रहेकाले ठूलो मोलमोलाइ गरी लैजाने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
नेपाली युवतीलाई भारतमा बलि दिनका लागि लैजाने समूहमा बढी पुरुष हुन्छन्। तर, युवती फकाउन र एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन महिलाकै संलग्नता हुने गरेको छ। माथि उल्लिखित घटनामा पनि किशोरीलाई फकाएर भारत लैजान महिलाकै प्रयोग भएको देखिएको छ।
सीमा क्षेत्रबाट महिलाको उद्धार र अनुसन्धानमा संलग्न साना हातहरू नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले भने, ‘नेपालकै पुरुषले महिलाको सहारामा युवतीलाई जालमा पारेर बलिका लागि भारत पठाउँछन्।’ हालसम्म किशोरी तथा युवतीलाई बलिका लागि भारत लैजानमा संलग्न १२ जनालाई प्रहरीले प्रदेश १ का विभिन्न जिल्लाबाट पक्राउ गरेको छ भने १ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया