मिलनले भने- प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या गरेँ

मिलनले भने- प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या गरेँ


काठमाण्डु– बालकोटमा हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उनकै जेठा छोरा मिलन आचार्य रहेका छन् ।

उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्विकारेका छन् ।

उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

उनले  प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या गरेको बताएको महाराजगन्ज वृत्तले जनाएको छ ।

५ दिन अघि मात्र काठमाडौं आएका आचार्य र उनका कान्छा छोरा प्रवीण सोमबार कोठामै मृत फेला परेका थिए । सँगै रहेका जेठा छोरा मिलन भने रातिनै फरार भएका थिए ।

स्कुटरको लाइसेन्स बनाउन कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि इनड्राइभबाट मोटरसाइकल मगाए । उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।