काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता सकिएको छ ।
शुक्रबार साँझ ओली निवास बालकोटमा भएको दुई शीर्ष नेताबीचको वार्तामा एमसीसी, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए । तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् ।
अध्यक्ष ओलीले अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको र संसदमा उपस्थित भएर एमसीसीबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा आउनुपर्ने सर्त राखेको मन्त्री कार्कीले जानकारी दिए ।
साथै एमालेले ‘अर्ली इलेक्सन’मा जान सुझाव दिएको बैठकमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले एमालेका माग पूरा नगरे ‘अर्ली इलेक्सन’ जान सुझाव दिइएको बताए ।
त्यस्तै बैठकमा लोकतन्त्रका लागि लडेका शक्तिहरु आधारभूत समझदारी गरेर अघि बढ्नुपर्नेमा दुबै पक्ष सकारात्मक भएका छन् । मन्त्री कार्कीले लोकतन्त्रको यात्राका सहयात्री भएकाले कांग्रेस र एमाले एकै ठाउँमा रहनुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएको बताए । ‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने ।




प्रतिक्रिया