बालकृष्ण ढुंगेलसहितको कैद माफी प्रस्ताव मन्त्रिपरिषद्‍मा, सम्भवतः आजै निर्णय हुने


काठमाडौं – ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा जेलजीवन बिताइरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको छ । ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद माफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको हो ।

आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । सम्भवतः आइतबारकै बैठकले कैद माफीको निर्णय गर्न गृह मन्त्रालय स्रोतले जनाएको छ । कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ। सोही प्रावधान अनुसार ढुंगेललाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको छ। कैद माफी गर्न सरकारले निर्णय गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनुपर्छ।

आइतबार सरकारले निर्णय गरी सोमबार राष्ट्रपतिले स्वीकृत गरी मंगलबार कैदीहरुलाई छाड्ने तयारी छ। नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष मात्र कैद सजाय हुन्छ। ढुंगेल द्वन्द्वकालमै पक्राउ परी साढे ७ वर्ष जेल बसेका थिए। कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैशाखमै ८ वर्ष पुगिसकेको छ। २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ। त्यसकारण असल चालचालनको कैदी भनेर सोही कार्य्विधि अनुसार उनलाई जेलमुक्त गर्न लागिएको हो। कार्यविधि अनुसार २३ वटा मुद्दा बाहेक अन्यमा कैद माफी दिन सकिने प्रावधान छ।

कर्तव्य ज्यान मुद्दालाई पनि माफी दिन मिल्ने अन्तर्गत राखिएको छ। जसकारण ढुंगेलले पनि १२ वर्ष कैद माफी पाउन लागेका हुन्। तर, गम्भीर किमिसको अपराधमा माफी दिन लागिएको भन्दै मानवअधिकारवादीहरुले सरकारको आलोचना गरेका छन्। माफी दिइन लागिएको विरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ। तर, आइतबार सुनुवाइ सरेपछि कैद माफीको निर्णय गर्न सरकारलाई सहज भएको हो। ढुंगेललाई माफी दिइन लागिएको विरोधमा आज द्वन्द्वपीडितहरुले माइतीघरमा प्रदर्शन समेत गरेका थिए। उनलार्इ माफी दिने निर्णयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग परामर्श समेत गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement