काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिएका बालकृष्ण ढुंगेल केपी शर्मा ओली नेतृत्वको नेकपामा लागेका छन् ।
जनयुद्धदेखी नै प्रचण्ड निकट रहेका ढुंगेलले ओली समूहमा लागेको घोषणा गरेका छन् । २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा जेल परेर छुटेका ढुंगेलले प्रचण्डले पछिल्लो समय गलत कदम चालेका कारण अलग हुनु परेको बताएका छन् । उनले प्रचण्ड‘अराष्ट्रवादी’ भएकाले आफू ओली समूहमा लागेको बताए ।
पछिल्लो समय प्रचण्ड निकट मानिने रामवहादुर थापा बादल, लेखराज भट्ट, टोपवहादुर रायमाझीलगायतका नेताहरु ओली समूहमा लागेका छन् । पूर्वसांसद समेत रहेका ढुंगेल २०७५ सालको गणतन्त्र दिवसको अवसरमा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो ।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका थिए । पछि पुनरावेदन अदालतले सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए । तर फेरि सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी पुनः पक्राउ परेका थिए ।




प्रतिक्रिया