काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताएका छन् ।
गृह मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री र विप्लवको निरन्तर वार्ता भइरहेको, नयाँ सरकार गठनपछि विप्लव समूहले सत्तारुढ दल र प्रतिपक्षीसँग पनि संवाद गर्ने बताए ।
विप्लवको नेतृत्वमा रहेको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्ताका लागि तोकिएका छन् । गृहमन्त्री खाँणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमै पु–याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताए ।
चन्द समूहका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुङ्ग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागतरूपमा गर्न गृहकार्य भइरहेको पनि सो अवसरमा जानकारी दिइयो । महान्यायाधिवक्ता, गृहमन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कति बन्दी छन्, उहाँहरूको कानुनी अवस्था कस्तो छ भन्ने अध्ययन भइरहेका बताउँदै गृहमन्त्री खाँणले भने, “वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गराैं भन्ने भएको छ ।’
‘एउटै व्यक्तिलाई छ/सातवटा समेत मुद्दा लागेको छ, बन्दीभन्दा धेरै मुद्दा भएकाले त्यसलाई कसरी सम्बोधन गर्ने भनेर छलफलमा छौँ,’ उनले भने ।सरकारको निरन्तरता भएकाले पूर्ववर्ती सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै उनले विप्लव समूहलाई लगाइएको मुद्दा फिर्ता गर्ने र बन्दीलाई रिहाइ गर्ने मामिलामा सरकार क्रियाशील रहेको स्पष्ट पारे ।
गृहमन्त्री खाँणले भने, ‘सरकार मुलुकमा शान्ति चाहन्छ, त्यसका लागि सबै राजनीति दल संवाद र वार्ताद्वारा राष्ट्रिय राजनीतिको मूलधारमा समावेश हुनुहोस्, संवैधानिक प्रक्रियाबाटै अघि बढौँ भन्ने हाम्रो प्रयत्न छ ।’




प्रतिक्रिया