कोइराला निवासमा पुगेका बालकृष्ण खाँणले भने- यसलाई पार्टीको गुटको रुपमा हेर्न हुँदैन

कोइराला निवासमा पुगेका बालकृष्ण खाँणले भने- यसलाई पार्टीको गुटको रुपमा हेर्न हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधबार बिहान अचानक विराटनगरस्थित कोइराला निवासमा देखिए।

शेरबहादुर देउवा नेतृत्वसँग चिसिएको सम्बन्धपछि खाँणको यो उपस्थितिलाई कांग्रेस राजनीतिमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ।

कोइराला निवासमा पुगेका खाँणले त्यही पत्रकार सम्मेलन पनि गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै खाँणले कोइराला निवासलाई कुनै गुटको हैकम नभई साझा भावनात्मक केन्द्र भएको बताए । ‘यहाँ बीपी, गिरिजा, कृष्णप्रसाद बसेका ठाउँ हो। यो हाम्रो इतिहास हो, हाम्रो आत्मा हो। यसलाई पार्टीको गुटको रुपमा हेर्न हुँदैन ।,’ उनले भने।

शेखर कोइरालासँग औपचारिक ‘लाइन’ नलिए पनि उनको उपस्थिति स्वयंमा राजनीतिक सन्देश बोकेको थियो।

पार्टीको आगामी महाधिवेशनबारे पत्रकारको प्रश्नमा नेता खाँणले पार्टी विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारे ।

खाँणले पार्टी भित्रको अनुशासनको कारवाही गर्नु र कारवाहीका विषयमा कुरा उठ्नु स्वभाविक भएको बताए । ‘कुनै पनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नुहुदैन’, उनले भने, ‘कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो । कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्तामात्र कमजोर हुँदैन, पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।’

पत्रकार सम्मेलनमा गुट फेरेको नबताए पनि उनको उपस्थितिले कोइराला समूहका नेताहरु भने हर्सित बनेका छन् ।