नैतिकता नभएका मन्त्रीः एकले अर्कोलाई दोष लगाएर पन्छिदैँ

नैतिकता नभएका मन्त्रीः एकले अर्कोलाई दोष लगाएर पन्छिदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दुई युवकको ज्यान गएको ललितपुरको बालकुमारी गोली काण्डमा तीन मन्त्रीको चर्को आलोचना भइरहेको छ ।

उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका हुन् । तर, यति गम्भीर घटनामा नैतिक जिम्मेवारी लिनुको साटो उनीहरू एक अर्कालाई दोष देखाउँदै पन्छिन थालेका हुन्।

आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको जनाइएको छ ।

सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने क्रममा गोली चलाउँदा दुई होनहार युवा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो। श्रममन्त्री भण्डारीले समस्यालाई समयमै सुल्झाउन नसक्दा युवाहरू त्यसरी आन्दोलित हुनुपरेको थियो। त्यस्तै गृह मन्त्रालयको कमिकमजोरीले उक्त घटना भएको भन्दै सांसदहरुले नै आवाज उठाइरहेका छन् ।

नेकपा एमालेका सांसदले गृहमन्त्री श्रेष्ठको राजीनामासमेत मागेका छन्। तर, गृहमन्त्री श्रेष्ठले भने भौतिक मन्त्री ज्वालालाई दोष लगाइरहेका छन् । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै गृहमन्त्री श्रेष्ठ असन्तुष्ट  छन् ।

गृहमन्त्रीको यस्तो भनाइका कारण मन्त्री ज्वालामाथि पदमा बसिररहन नैतिक संकट उत्पन्न भएको छ। तर, उनी सोमबारसम्म पनि प्रस्टीकरण दिँदै हिँडिरहेका छन्। गृहमन्त्रीले आफूलाई दोष देखाइरहँदा भौतिक मन्त्री ज्वाला भने आफ्नो कुनै दोष नभएको भन्दै पन्छिन खोजिरहेका छन् ।

उनले उक्त घटना आफ्नो कारणले नभएको भन्दै आफू माथि जबरजस्ती दोष थोपर्न खोजिएको तर्क गरेका छन्। ‘मेरो सुरक्षाकर्मीलाई केन्द्रबाट बाटो अवरोध भएको कुनै जानकारी आएको थिएन,’ सोमबार ज्वालाले भने, ‘त्यसैले हामी अनजानमै त्यो बाटोमा पुग्यौ ।’ उनले यसमा प्रहरी प्रशासनको गल्ती रहेको देखाएका छन्। यता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्री ज्वालाको सवारी हुँदा स्थिति झन असामान्य बन्न पुगेको बताए ।

‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ उनले भने, ‘प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखियो ।’

त्यस्तै यो घटना घट्नुमा इपिएस कार्यालयको लापरबाही भएको भन्दै नैतिक हिसाबले श्रम मन्त्रीले यसको जिम्मेवार लिनु पर्ने आवाज पनि उठेको छ। तर, श्रम मन्त्रीले यस घटनाबारे आफ्नो मुख खोलेका छैनन्। एउटा मन्त्रीको सुरक्षा गर्न दुई युवाको ज्यान गएको भन्दै सुरुक्षा प्रमुखले नै स्वीकार गरिसकेको अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुको साटो मन्त्री श्रेष्ठ, भण्डारी र ज्वाला एकले अर्कालाई दोष देखाएर पन्छिन खोजिरहेका छन् ।

याे पनि पढ्नुहाेस्