काठमाण्डु – काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत सोमबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
नेपालले माल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्यो । नेपाल समूह चरणको अंक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलंका र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।
नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अंक तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे । नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरान विरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।
अर्को सेमिफाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम ४ मा स्थान पक्का गरेको छ ।
मंगलबार दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतको सामना गर्नेछ भने साँझा ५ः१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया