कपिलवस्तु – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भए पनि पास गरिने बताएका छन् ।
नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसकेको टिप्पणी गरे ।
‘त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिएँ । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमि सम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेले समेत जनतासँग मत माग्ने बेला भूमिहिनलाई जग्गा उपलब्ध गराउने वाचा गरेका थिए,’ मन्त्री अधिकारीले भने ।
सरकारले ११ वटा नयाँ ऐन बनाउने गरी अगाडि बढेको उनले बताए । ‘अहिले ६ वटा अध्यादेश संसद्मा टेबुल भएको छ । ती अध्यादेशभित्र २८–२९ वटा कानून छन् । त्योबाहेक मिडिया र नागरिकता सम्बन्धी विधेयक समेत पेश भएको छ,’ उनले भने ।
एमाले जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेले गरेका कार्यहरूको मूल्यांकन गर्दा जनताले पार्टीलाई फेरि विश्वास गर्ने बताए । उनले एमाले गरीब जनतासँग जोडिएको पार्टी भएकाले विपक्षीहरूले असफल बनाउन खोजे पनि सफल नहुने दाबी गरे ।
बैठकले जरा केन्द्रित अभियानमार्फत पार्टीले गरेका काम र सन्देश लिएर हरेक मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताए ।




प्रतिक्रिया