काठमाडौं – बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना गरेको सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढेको थियो ।
आयोगले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त, दीप बस्न्यात, दिनेशहरि अधिकारी, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, मुख्य मतियार मानिएका शोभाकान्त ढकाललगातयविरुद्ध आरोपपत्र दायर गरेको हो ।
श्रेष्ठ माधवकुमार नेपाल सरकारमा नेकपा (माले)बाट, जोशी डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा नेकपा संयुक्तको तर्फबाट मन्त्री बनेका थिए ।
सचिव हुँदाकै प्रकरणमा मुछिएका पन्त भने खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।
सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, उनकी पत्नी र छोरा कल्याण गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
पूर्वमन्त्रीमध्ये विजयकुमार गच्छदार र डम्बर श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख ७६ हजार तथा पूर्वमन्त्री चन्ददेव जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो कायम गरिएको छ ।
यसैगरी अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्तविरुद्ध पनि समान ९ करोड ६५ लाख ७६ हजार बिगो कायम गरिएको छ ।
जग्गा हिनामिना प्रकरणमा संलग्न भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र उनको परिवारविरुद्ध ११ करोड २० लाख बिगो कायम गरी मुद्दा गरिएको अख्तियारले जनाएको छ ।




प्रतिक्रिया