बालुवाटार बैठक बिना निष्कर्ष सकियो

बालुवाटार बैठक बिना निष्कर्ष सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमख प्रतिपक्षी नेकपा एमालेबीचको छलफल सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल बिना निष्कर्ष सकिएको हो ।

बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । संसदमा जारी गतिरोध अन्त्य गर्ने, एमसीसी लगायतका विषयमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि एमाले अध्यक्ष ओलीसहितका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन एमालेसँग छलफल अगाडि बढाएका हुन् । देउवाले आजै दिउँसो पनि एमाले अध्यक्ष सिंहदरबारमा छलफल गरेका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गरेका थिए । आज पनि अध्यक्ष ओलीले एमालेले संसद अवरोध गर्नुपर्नाको कारण समाधान नभएसम्म अरु विषयमा सोच्न नसकिने जवाफ दिएका छन् ।

‘प्रधानमन्त्रीले एमसीसीमा अधिकतमक सहमति कायम गर्न राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राख्नुभयो । एमालेले संसदमा राख्दै आएका माग सम्बोधन नभएसम्म नयाँ परिस्थिति नबन्ने धारणा ओलीजीले राख्नुभयो । यद्यपि छलफल निरन्तर राख्ने कुरा भएको छ’, बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

मन्त्री कार्कीका अनुसार संसद सुचारु गर्न प्रधानमन्त्रीले थालेको पहल आजको बैठक सकिदासम्म निष्कर्षमा पुगेको छैन ।