काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आगामी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।
आज दिउँसो १ बजे वालुवाटारमा स्थायी कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि हिजो पनि स्थायी कमिटीमा सर्वोचको फैसलाबारे छलफल भएको थियो ।
सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको र क्षेत्राधिकार मिचेर फैसला गरेकोमा बैठकले आपत्ति जनाएको थियो । अदालतको फैसला आपत्तिजनक भए पनि कार्यान्वयन गर्नुपर्ने विषय बैठकमा उठेको एमाले नेता एवम् पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यद्यपि अदालतको फैसला कसरी कार्यान्वयन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्णय गर्ने भएकाले आज पुनः बैठक बस्न लागेको एमाले नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । सम्बोधनपछि उनी बालकोट जानेछन् ।




प्रतिक्रिया