काठमाण्डु- पछिल्लो समय नेपाली राजनीतिमा वाम एकताको बहस सुरु भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठन्धन फुट्नुका साथै नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि बाम एकताको बहस सुरु भएको हो ।
वाम एकताको विषयले औपचारिक रुपमा प्रवेश नपाए पनि अनौपचारिक रुपमा भने प्रवेश पाएको छ । नेपाली कांग्रेस सरकारबाट बाहिरिएदेखि नेपालको राजनीतिको परिस्थिति नै बदलिएको छ ।
हाल नेकपा एमाले, नकेपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका अधिकांश नेताहरु नेताहरुले वाम एकताको आवाज उठाइरहेका हुन् ।
कांग्रेससँगको सहकार्यमा मंसिर ४ गते भएको संघ र प्रदेशसभाको चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआएको बताउँदै जनताहरु वाम एकताको पक्षमा रहेका दावी गरेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतम पनि वाम एकता गर्न सक्रिए भएका छन् ।
२०७५ जेठ ३ गते ठूला दुई कम्युनिष्ट शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको थियो । नेकपा एमालेको संसदमा १२१ सिट र माओवादीको ५३ सिट लगाएर १७४ सिटसहित ६४ प्रतिशत जनमतसहितको शक्तिशाली कम्युनिष्ट सरकार बनेको थियो । तर, उक्त एकता लामो समय टिक्न सकेन ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो । पछि यी दुई दलबीच खटपटका कारण नेकपा फुट्नुका साथै नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठन्धन भयो । मंसिर ४ को चुनावमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठन्धनले बहुमतसमेत ल्याउन सकेन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्नेविषयमा सहमति नजुटेपछि पुन प्रचण्ड नेकपा एमालेसँग मिल्नुका साथै प्रधानमन्त्री बन्न सफल भए ।
फेरि प्रचण्ड र अध्यक्ष ओलीबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति जुटेको छ । २०७४ प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बनेको सम्बन्ध तीन वर्ष नवित्दै टुटेको थियो । तर, मंसिर ४ गते भएको चुनावपछि बालुवाटारमा प्रचण्डलाई पहिलो प्रधानमन्त्री बनाउन देउवा तयार नहुँदा प्रचण्ड बालकोट हानिए र एकै छिनमा ओली र प्रचण्डबीच फेरि समझदारी बन्यो र प्रधानन्त्रीमा सहमति जुट्यो ।
त्यसयता ओली र प्रचण्डबीचको सम्बन्धमा फेरी सुधार भएको छ । प्रचण्डलाई भेट्न ओली खुमलटार सम्म पुगेर सँगै सुन्तला खाए । दिनहुँ दुई नेताबीच भईरहेको छलफलले भावी दिनमा फेरी वाम एकता हुने आँकलन पनि गरिएको छ । त्यसकारण पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अधिकांश नेताहरुले वामपन्थि दलहरु मिल्नुपर्ने आवाज उठाइरहेका हुन् ।
यता नेकपा एकीकृत समाजवादीको शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा पनि वाम एकताको आवाज उठेको छ । नेकपा एमालेबाट अलग्गिएर माधकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एसको स्थायी कमिटी सदस्यहरुले एमालेसँग एकता गर्ने वा नगर्ने विषयमा पनि छलफल गरेका थिए ।




प्रतिक्रिया