के पाक्दैछ वाम पार्टीहरूबीच भित्रभित्रै खिचडी ?


काठमाण्डु – पछिल्लो समय तीन ठुला कम्युनिष्ट पार्टीभित्र वाम गठबन्धनबारे चर्चा चल्न थालेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलका केही पार्टीहरू असन्तुष्ट भएसँगै वाम एकताको आवाज उठेको हो । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)  र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले सोचे जस्तो नतिजा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनप्रति जसपा र एकीकृत समाजवादीले असन्तुष्टि जनाएसँगै नेकपा एमालेले वाम एकताको अगुवाइ थालेको हो । स्रोतका अनुसार प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन् । तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको  एकीकृत समाजवादीले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भएका थिए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने आवाज उठिरहेको स्रोतको दावी छ ।
कुनै पनि हालतमा गठबन्धन फुटाउने ओलीको रणनीति 

यसअघि प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैको बैशाखी नटेक्ने बताएका थिए । तर भित्री रूपमा भने ओली पनि गठबन्धन चाहन्छन्।  स्थानीय तहको निर्वाचनमा पनि एमालेले गणतन्त्र विरोधी दलहरूसँगै चुनावी तालमेल गर्नुले पनि ओली एकता र चुनावी तालमेलको पक्षमा नै रहको पुष्टि हुन्छ ।

अर्को तर्फ २०७४ सालको चुनावमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो दल बनेको नेकपा एमाले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कै कारण नेकपा एमाले दोस्रो स्थानमा खुम्चिन पुग्यो । देशैभरका ६ महानगरपालिका मध्ये नेकपा एमाले एउटामा पनि विजयी हुन सकेन ।

त्यसकारण पनि प्रदेश र संघको निर्वाचन अघि नै ओली गठबन्धन फुटाउने रणनीतिमा लागेका छन् । यसभन्दा अघि मोरङमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पाँच दलीय सत्ता गठबन्धन अब धेरै नटिक्ने दाबी गरेका थिए । उनले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने जिकिरसमेत गरेका थिए । स्थानीय तहको निर्वाचन सकिएलगत्तै ओली जसपाका अध्यक्ष उपेन्द्र यादवसँगसमेत भेटवार्ता गरेका थिए । अध्यक्ष ओली र यादवबीच भएको उक्त भेटवार्तालाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्ड पनि वाम एकताको पक्षमा 

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले धोका दिएको कारणले सोचेजस्तो नतिजा नआएको निष्कर्ष निकालेको छ । पार्टीको बैठकमा स्थानीय तहको चुनावको नतिजाबारे छलफल गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेसका नेताहरूले जालझेल गरेको आरोप लगाएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बारमबार नेपाली कांग्रेसका नेताहरुमा घमण्ड धेरै भएको बताउँदै आएका छन् ।

गत हप्ताको शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले ओली बाहेक एमालेका अन्य नेताहरुसँग मिल्न सकिने बताएका थिए । तर, केपी ओलीकै  व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ ।

 ‘यो (केपी ओलीको) अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु । उहाँ (ओली)ले जस्ता शक्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’  प्रतिनिधिसभा बैठकमा प्रचण्डको उक्त अभिव्यक्तिबाट नै उनी अझैँ पनि वाम एकताको पक्षमा रहेको बुझ्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement