काठमाण्डु – राष्ट्रियसभा सदस्य बामदेव गौतमले संविधान संशोधन गर्नमा सहमति प्रकट गरेका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरीब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए ।
निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरू अल्पमतमा हुने बताउँदै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए । व्यक्ति नभई पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने उनले बताए ।
उनले खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधिसभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरूको एकैदिन निर्वाचन गर्नुपर्ने बताए ।
‘नेपाल राष्ट्रलाई सधैं गरीब हुन प्रेरित गर्ने हामीले अबलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो । अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौं,’ उनले भने ।
उनले नेपालका सबै कृषियोग्य भूमिलाई राष्ट्रियकरण गर्नुपर्ने बताए । सरकारले भूमिपतिहरूलाई चलनचल्तीको मूल्य प्रदान गरेर जमिन राष्ट्रियकरण गर्नुपर्ने उनले बताए । यसो गरेमा नेपालको समृद्धि शुरु हुने उनले तर्क गरे ।
‘म जतिसक्दो छिटो नेपालको सम्पूर्ण कृषि उत्पादनको भूमि राष्ट्रियकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्छु । संसारका अरु सबै मुलुकहरूले राष्ट्रियकरण गर्दा कुनै मुआब्जा दिएनन् । तर नेपालको कृषि भूमि नेपाली जनताले रगत, पसिना लगानी गरेर आर्जन गरेको हुनाले सरकारले भूमिपतिहरूलाई चलनचल्तीको मूल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्छ । मूल्यबापत अहिले नेपाल सरकारले बैंक ग्यारेन्टी दिनुपर्छ,’ उनले भने ।




प्रतिक्रिया