काठमाडौं – नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ।
थप छलफल गर्न बुधबार सचिवालय बैठक बोलाइएको छ। संविधान संशोधन गर्ने निर्णयले जनमत नै पार्टीका विपक्षमा जान सक्ने बुझाइ नेताहरूमा छ। त्यसैले अघिल्लो निर्णयबाट पार्टी ‘ब्याक’ हुने सम्भावना छ। उपाध्यक्ष गौतम संविधान संशोधन नगरी राष्ट्रिय सभामा जान तयार भए उनलाई लैजाने विषयमा भने नेताहरू सकारात्मक छन्।
‘हामीले ब्याक फायर होस् भन्ने नियतले उहाँ (गौतम)का विषयमा निर्णय गरेका थिएनौं, तर जनमत विपक्षमा देखियो भन्ने छ। यो स्थिति विश्लेषण गरी पार्टीले निर्णय फेरबदल गर्न सक्छ। त्यसबारे बैठकमै औपचारिक छलफल हुनेछ,’ सचिवालयका एक नेताले भने, ‘ तर संविधान संशोधनबिनै उहाँले राष्ट्रिय सभामा जान चाहनुभयो भने पार्टीले पठाउने निर्णयलाई निरन्तरता दिन सक्छ।
यो उहाँको प्रस्ताव र रुचिमा भर पर्ने कुरा भो।’ कार्यदल बनाउने निर्णयसँगै नेता गौतम पनि विवादमा परेका छन्। प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि पटकपटक झ्यालबाट संसद् प्रवेश गर्ने प्रयास गरेर पदलोलुपता देखाएको आरोप उनलाई लागिरहेको छ।याे खबर नयाँ पत्रिका दैनिकमा छ ।




प्रतिक्रिया