काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले मधेसबाट संगठन निर्माणको सुरुवात गर्ने भएका छन् । संगठन विभाग प्रमुखसमेत रहेका गौतमले उपाध्यक्ष बनेपछि संगठन सबैभन्दा विवादमा रहेको प्रदेश–२ बाट ‘एक्सन’ सुरुवात गर्न लागेका हुन् ।
माघ १५ गतेदेखि १९ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा प्रदेश–२ का अध्यक्ष प्रभु शाहले मधेसमा संगठनको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । शाहले समग्र प्रदेशकै राजनीतिक अवस्था, चुनौतीपूर्ण र जटिल रहेको उल्लेख गरेका थिए। पार्टीको संगठनमा अनुशासन नभएको र समस्याले ग्रस्त भएको उनको भनाइ थियो ।
उनले पार्टी संङ्कटमा पर्दा अराजकता मचाउने र विद्रोहसमेत गर्ने तथा परिस्थिति सहज र पार्टी बलियो हुँदा पार्टीमा फर्किने र नेतृत्वको नजिक रहेको र सत्ता स्वादका लागि अस्वभाविक चाकरी गर्नेजस्ता स्थानीय नेतृत्वमा देखिएको अवसरवादी प्रवृतिका कारण पनि प्रतिक्रियावादीसँग दृढतापुर्वक निरन्तर संघर्ष गर्न नसक्दा पार्टी कमजोर भएको उनको रिपोर्टिङ थियो ।
प्रदेश–२ को संगठनमा देखिएको विवाद समधान गर्न बामदेवले पहिलो चुनौती मोलेका हुन् । गौतम माघ २३ देखि २६ गतेसम्म तीन दिन तराई झर्न लागेका हुन् ।
प्रदेश–२ को संगठनको विषयमा केन्द्रीय समितिमा चर्काचर्की भएको थियो । यही विषयमा पार्टीमा उजुरीसमेत परेको थियो । गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको नेकपा बैठकले मधेसमा संगठनभित्र देखिएको विवाद समाधान गर्ने जिम्मा संगठन विभागलाई दिएको थियो ।
पार्टीले प्रदेश–२ को संगठनमा देखिएको विवाद मिलाउने जिम्मा पाए पनि तराई नझरेका बामदेव उपाध्यक्ष भएपछि पहिलो ‘एक्सन’का साथ मधेस जान लागेका हुन् ।




प्रतिक्रिया