काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर भ्रामक समाचार भएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार उपाध्यक्ष गौतमले प्रधानमन्त्रीसँग बालुवाटारमा पार्टीभित्र रहेका समस्या र समाधानका विषयमा छलफल भएको बताएका हुन् ।
एक पत्रिकाले ‘प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्, बालकोट गएर आराम गर्नुस्’ शीर्षकको समाचार प्रकाशित गरेपछि वामदेवले आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्रीलाई आफूले राजीनामा दिनूस् भनेर नभनेको एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टीभित्र र सरकारबीच अनि अन्य पार्टी र सरकारकाबीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए ।’उनले सरकारले अध्यादेश खारेज गरे पनि पार्टीभित्र धेरै समस्या रहेको बताएका छन् । उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको समस्या समाधान गर्नोस् भनेर सुझाव दिएको बताएका छन् ।
‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि अनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई वाइपास गरेर होइन प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामाना गरेर मात्र गर्न सकिन्छ । तसर्थ सचिवालय, स्थाई कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बलाउनूस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ । उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो , थोरै बोल्नु भयो म बिदा भएर आएँ ।’




प्रतिक्रिया