काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्ष पार्टी अध्यक्ष र सरकार प्रमुख रहने प्रस्ताव गरेका छन् ।
पछिल्लाे समय पार्टीभित्र पद बाँडफाँडमा नेताहरुबीच विवाद उत्पन्न भएपछि उपाध्यक्ष गौतमले मध्यमार्गी उपाय अवलम्बन गरेका हुन् । उनले दुवै अध्यक्षलाई मिलेर अगाडि बढ्नका लागि यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।
मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्तावमा उपाध्यक्ष गौतमले पार्टीको महाधिवेशन र प्रतिनिधिसभाको कार्यकालसम्म नै ओली रहने प्रस्ताव गरेका हुन् ।
अध्यक्ष प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने बताएका छन् । उनले पार्टीको महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि बताएका छन् ।
‘प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रि तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गनूपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कर्याान्वयन गर्ने’, उनले भनेका छन् ।
त्यस्तै उनले पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुर्नगठन तथा सम्वैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने प्रस्ताव गरेका छन् ।
त्यस्तै उनले पार्टीका बैठक बालुवाटारमा नबस्ने र पार्टी कार्यालय धुम्बारहीमा बस्ने बताएका छन् ।
‘अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने’, उनले भनेका छन् ।





प्रतिक्रिया